२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसपछि उनीहरूबीच सम्बन्धविच्छेदको तयारी भइरहेको चर्चा चले पनि रञ्जिताले भने आफू डिभोर्स नभई बहुविवाहसम्बन्धी कानुनी प्रक्रियामा अघि बढ्न लागेको स्पष्ट पारेकी छन्।
रञ्जिताले सामाजिक सञ्जालमा कानुनले ठहर गरेको विषयबाट आफू पछि नहट्ने आशयको स्टाटस लेखेकी थिइन्। त्यसपछि उनीसँग गरिएको कुराकानीमा उनले लामो समयदेखि मौन बसे पनि आफूलाई थप पीडा दिने काम भएकाले रेशमविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको बताइन्।
रञ्जिता र रेशमको एक छोरा छन्। उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन्। रञ्जिता काठमाडौंमा छोरासँग बस्दै आएकी छन् भने रेशम बर्दियामा आशा चौधरी र छोरीसँग बस्दै आएको समाचारमा उल्लेख छ।
रेशम र आशाबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू सार्वजनिक हुँदै आएका छन्। पछिल्लो समय रञ्जिता र रेशमबीच राजनीतिक तथा पारिवारिक सम्बन्धमा समेत दूरी बढेको देखिएको छ।
समाचारअनुसार रेशम र आशाबीच विवाह दर्ता भएको छैन। रञ्जितासँग कानुनी सम्बन्ध कायम रहेकै अवस्थामा अर्को विवाहसम्बन्धी प्रक्रिया अघि बढाएको आरोपमा रञ्जिताले कानुनी बाटो रोज्न लागेको बताएकी हुन्। अब उनले मुद्दा दर्ता गरेपछि त्यससम्बन्धी कानुनी प्रक्रिया अघि बढ्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij