२०८३ आश्विन २९ गते बिहिवार
मुगु जिल्लालाई केन्द्र बनाएर आज दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार गएराति १:५१ बजे र बुधबार बिहान ४:२८ बजे मुगुको कालाइ केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
राति १:५१ बजे ४.५ म्याग्निच्युड र बिहान ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।
अघिकारीले मुगुको एकै स्थानमा अढाई घण्टाकाे फरकमा दुईवटा भूकम्प गएकाे बताए। ‘तर ४.५ र ४.२ म्याग्निच्युडको भूकम्पबाट खासै क्षति हुँदैन। तर सचेत चाहीँ हुनुपर्छ,’ उनले भने।
अधिकारीका अनुसार प्रत्येक ठूला भूकम्पका आफ्ना परकम्प हुन्छन्। ४ रेक्टर स्केलको भूकम्प गएको ठाउँमा पनि त्यो भन्दा साना ३, २, १ का कयौँ भूकम्प जाने उनको भनाइ छ। गत साता मुस्ताङमा गएको भूकम्पपछि २०/२२ वटा परकम्प गइसकेका अधिकारीले बताए।
यही भदौ २३ गते राति ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसको धक्का काठमाडौँमा पनि महसुस भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij