२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन्।
लागुऔषध गाँजा बरामद गरिएको गाडीमा टाँसिएको स्टिकर प्रहरी कार्यालयभित्रै प्रवेश गरेर उप्काएको आरोपमा प्रहरीले यादवलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यादवले इलाका प्रहरी कार्यालय रानीको परिसरभित्र अनधिकृत रूपमा प्रवेश गरी अनुसन्धानका लागि राखिएको गाडीबाट प्रमाण नष्ट गर्न खोजेका थिए।
प्रहरीले ५० किलो २९० ग्राम गाँजासहित नियन्त्रणमा लिएको को १ च ६६२० नम्बरको मारुती भ्यानमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर टाँसिएको थियो।
प्रहरी हिरासतमा राखिएको उक्त गाडीबाट यादवले स्टिकर उप्काउँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादव विराटनगर महानगरपालिका–१४ का बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार यादवलाई भदौ २२ गते पक्राउ गरिएको हो। उनलाई अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार गाँजा तस्करीमा प्रयोग भएको उक्त गाडीमा अस्पतालको स्टिकर प्रयोग गरी सुरक्षाकर्मीलाई झुक्याउन खोजिएको हुनसक्छ। सोही स्टिकर उप्काएर अनुसन्धानमा प्रमाण मेटाउन खोजेको आरोपमा यादवमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij