२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले झापादेखि कञ्चनपुरसम्म पैदल यात्रा गर्ने भएका छन्। हुलाकी राजमार्ग हुँदै गरिने उक्त यात्रा करिब तीन महिनाको हुने पार्टीका महासचिव सन्तोष मेहताले जानकारी दिएका छन्।
यात्राको तयारी भइरहेको र सम्भवतः चाडपर्व सकिएलगत्तै पैदल यात्रा सुरु गरिने उनले बताए। उनका अनुसार यात्राको उद्देश्य राजनीतिक भेटघाट र जनतासँग संवाद गर्नुका साथै पर्यावरण संरक्षण गर्नु पनि हो।
अध्यक्ष महतोले पैदल यात्रा गर्ने क्रममा विभिन्न स्थानमा वृक्षारोपण गर्ने योजना बनाएका छन्। जलवायु परिवर्तनका कारण विश्व नै संकटमा परिरहेका बेला वातावरण संरक्षणको सन्देश दिन यात्राका क्रममा रुख रोप्ने कार्यक्रम राखिएको महासचिव मेहताले बताए।
यात्राका क्रममा स्थानीय नागरिकसँग राजनीतिक भेटघाट तथा छलफल गरिनेछ। देशको बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको आगामी कार्यदिशाबारे जनताबाट राय तथा सुझाव लिने योजना रहेको पनि मेहताले जानकारी दिए।
उनका अनुसार यात्राकै क्रममा राष्ट्रिय मुक्ति पार्टीको संगठन विस्तार तथा निर्माणको कामलाई समेत अघि बढाइनेछ। बदलिँदो परिस्थितिमा फरक ढंगले राजनीति अघि बढाउनुपर्ने आवश्यकता रहेको भन्दै जनताको सुझावका आधारमा पार्टीको आगामी रणनीति तय गरिने पार्टीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij