२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । विनाशकारी बाढीपछि नेपालमा जारी उद्धार तथा राहत कार्यमा सहयोग गर्न सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली नेपालमा खटिएको छ। भदौ १७ गते नेपाल आएको टोलीले हवाई निगरानीसँगै बाढीमा मृत्यु भएकाहरूको पहिचानका लागि नेपाली सुरक्षा तथा स्वास्थ्य अधिकारीलाई सहयोग गरिरहेको छ।
टोलीमा फिंगरप्रिन्ट संकलन तथा फोटोग्राफीमा प्रशिक्षित प्रहरी अधिकारीका साथै फोरेन्सिक विशेषज्ञहरू सहभागी छन्। टोलीले काठमाडौंका विभिन्न अस्पतालमा राखिएका शवबाट औँठाछाप, फोटोग्राफी तथा अन्य फोरेन्सिक विवरण संकलन गरिरहेको छ।
टोलीका डीभीआई प्रमुख असिस्टेन्ट कमिस्नर अफ पुलिस यूजिन वाङका अनुसार सिंगापुरका नागरिकको मात्र नभई बाढीबाट प्रभावित सबै पीडितको पहिचानमा सहयोग गर्ने उद्देश्यले टोली नेपाल आएको हो। बाढीमा नौ जना सिंगापुरियन नागरिक सम्पर्कविहीन छन्।
सिंगापुरको फोरेन्सिक टोलीले सम्पर्कविहीन व्यक्तिका परिवारबाट एक्स–रे, मेडिकल रेकर्ड तथा डीएनए नमुनासमेत संकलन गरिरहेको छ। संकलित विवरण नेपाललाई उपलब्ध गराइनेछ र नेपाली पक्षले शवसँग मिलान गरी पहिचान प्रक्रिया अघि बढाउनेछ।
सिंगापुर सरकारले नेपालका लागि ५ लाख ६० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा पनि गरेको छ। यसमा औषधि, राहत तथा आपत्कालीन सामग्री समावेश छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij