२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार सुरु गरिएको छ।
बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई घटनास्थलमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पताल ल्याइएको थियो। कबीरको जीवितै उद्धार भएको खबर पाएपछि आफन्तजनहरू सैनिक अस्पताल पुगेका छन्।
सकुशल उद्धार र उपचारमा खटिने नेपाली सेना, चिकित्सक टोली, आफन्तजन तथा नेपाल सरकारलाई कबीरकी श्रीमती हीराशोभा महर्जनले विशेष धन्यवाद व्यक्त गरेकी छन्। हेलिकप्टरबाट ल्याउँदा सुरुमा कबीरले आफन्तलाई चिन्न नसकेको उनले जानकारी दिएकी छन्। कबीरले सुरुमा आफन्तसँग, ‘म कहाँ छु, मलाई के भएको हो ?’ भनेर सोधेको हीराशोभाले बताएकी छन्।
दिन रात नभनी विगत १० दिनदेखि परिवार चिन्ता र पर्खाइमा बसेको हीराशोभाले उल्लेख गरेकी छन् । उद्धार भएको खबर सुन्दा र तस्बिर देख्दा परिवारमा खुसीको आँसु आएको तथा सबै जना निकै भावुक बनेको उनले बताएकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij