२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उद्धार तथा खोजी कार्यमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले उद्धारका क्रममा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारी घाइते भएमा नि:शुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।
गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णयअनुसार खोज तथा उद्धारका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।
सरकारले भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिमपूर्ण परिस्थितिमा काम गरिरहेकाले उनीहरूको सुरक्षा तथा परिवारलाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij