२०८३ आश्विन ३० गते शुक्रवार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका नागरिक तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार यही १० भदौमा ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ । नदीको बहाव बढेसँगै थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति र अन्य कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।
जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ । नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्नसमेत भनिएको छ ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेकी हुन् ।
प्राधिकरणले भोटेकोशीको बहावमा थप परिवर्तन आउन सक्ने भएकाले स्थानीय बासिन्दा, उद्धारकर्मी तथा राहतमा खटिएका सबैलाई निरन्तर सतर्क रहन अनुरोध गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij