२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । दुबईले अहिले यस्तो अफर ल्याएको छ, कि त्यहाँ रहेका विदेशीले आफ्ना आफन्तलाई दुबई घुम्न बोलाएमा ३ हजार दिरामभन्दा बढी मूल्यका सुविधा पाउनेछन्। यो अफरसँगै दुबई घुम्न चाहनेका लागि ठूलो अवसर आएको छ।
दुबईमा बस्ने व्यक्तिले आफ्ना साथी वा परिवारका सदस्यलाई दुबई भ्रमणका लागि निमन्त्रणा गरेमा ३ हजार दिराम अर्थात् करिब १ लाख १० हजार नेपाली रुपैयाँभन्दा बढी मूल्यका सुविधा प्राप्त गर्न सक्नेछन्।
अहिले दुबई सरकारले ‘ए दुबई इनभाइट’ नामक नयाँ अभियान सुरु गरेको छ। यस अफरका लागि युएईमा बस्ने व्यक्तिले भिजिट दुबईको आधिकारिक वेबसाइटमा गएर ‘ए दुबई इनभाइट’ अभियानमा दर्ता गरी आफ्ना साथी वा परिवारका सदस्यलाई निमन्त्रणा पठाउनुपर्नेछ।
निमन्त्रणा पाएपछि तोकिएको अवधिभित्र दुबई पुग्ने व्यक्तिले होटल बसाइ, रेस्टुरेन्टमा छुट र विभिन्न पर्यटकीय स्थलका टिकटजस्ता ३ हजार दिरामभन्दा बढी मूल्यका सुविधा प्राप्त गर्न सक्नेछन्।
पाहुना भने यूएई बाहिरका व्यक्ति हुनुपर्नेछ र उनीहरू मान्य पर्यटक भिसा वा अन अराइभल भिसामार्फत दुबई पुग्नुपर्नेछ। यस योजनामा एकपटकमा पाँच जनासम्मको नाम दर्ता गर्न सकिनेछ। पाँच जनाभन्दा बढी भएमा अर्को फाराम भर्नुपर्नेछ।
पाहुना दुबई पुगेपछि प्रणालीले उनीहरूको प्रवेश स्वतः पुष्टि गर्नेछ। त्यसपछि निमन्त्रणा पठाउने व्यक्तिको इमेलमा छुट तथा सुविधा प्रयोग गर्ने जानकारी पठाइनेछ।
यो अफर २०२६ जुलाई २० देखि अक्टोबर ३१ सम्म लागू हुनेछ। दुबईमा ठूलो संख्यामा नेपालीहरु रहेकाले यो योजना नेपालीहरुका लागि पनि राम्रो अवसर बन्न सक्छ।
दुबई सरकारले पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन यो अभियान ल्याएको हो। इरान–इजरायल युद्धपछि मध्यपूर्वतर्फ जाने पर्यटकको संख्या घटेकाले पर्यटक आकर्षित गर्न यस्तो योजना सुरु गरिएको बताइएको छ।
दुबईले लगातार तीन वर्ष पर्यटन क्षेत्रमा नयाँ कीर्तिमान बनाएको थियो। सन् २०२५ मा मात्र १ करोड ९५ लाखभन्दा बढी विदेशी पर्यटक दुबई पुगेका थिए। अहिले सरकारले नयाँ अफर र विभिन्न सुविधा दिएर अझ धेरै पर्यटकलाई दुबई भ्रमणका लागि आकर्षित गर्ने प्रयास गरिरहेको छ।
यो छुट २०२६ डिसेम्बर ३१ सम्म प्रयोग गर्न सकिनेछ। यी सुविधामा होटल बसाइ, रेस्टुरेन्टमा भोजन, विभिन्न पर्यटकीय स्थलको प्रवेश टिकट तथा अन्य विशेष अफरहरू समावेश छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij