२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कामका लागि १ हजार ४६४ जना नेपाली सहायक कामदार (केयरगिभर) को माग गर्दै अनलाइन आवेदन खुलाइएको छ । वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
कुल माग सङ्ख्यामध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष कामदार छनोट गरिने विभागले जनाएको छ। छनोट हुने कामदारले मासिक ६,४४३.८५ इजरायली मुद्रा (करिब ३ लाख २३ हजार नेपाली रूपैयाँ) पारिश्रमिक पाउनेछन् ।
कामदारले प्रतिहप्ता ४२ घण्टा र हप्ताको ६ दिन काम गर्नुपर्नेछ। सुरुको करार अवधि १ वर्षको हुनेछ भने रोजगारदाताले चाहेमा करार अवधि अधिकतम ५ वर्षसम्म थप गर्न सक्नेछन्। यसका साथै अतिरिक्त समय (ओभरटाइम), वार्षिक बिदा र आवास सुविधा इजरायली श्रम कानुनअनुसार उपलब्ध हुनेछ।
इच्छुक आवेदकले २०८३ भदौ २३ गते राति १२:०० बजेदेखि २०८३ असोज २६ गते राति ११:५९ बजेसम्म (३५ दिनभित्र) वैदेशिक रोजगार विभागको वेब पोर्टल मार्फत अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी कम्तीमा १५ महिनाको कोर्स पूरा गरेको वा कक्षा १२ वा सो सरह उत्तीर्ण भई मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको केयरगिभिङ तालिम लिएको हुनुपर्नेछ।
यसका साथै तोकिएको संस्थाबाट अङ्ग्रेजी भाषा परीक्षण उत्तीर्ण गरेको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij