२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनु पर्नेमा जोड दिएका छन् ।
मङ्गलवार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव बेचबिखनको स्वरूप बदलिएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना र राजनीतिक सुशासनको आवश्यक रहेको बताएका हुन्। आचार्यले विगत लामो समयदेखि आफूहरू कलाका माध्यमबाट मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय रहेको स्मरण गराएका छन् ।
उनले ‘रातु’, ‘छोरी’ र ‘टीकेको तीन मन्तर’ जस्ता टेलिचलचित्र तथा विभिन्न गीतमार्फत सचेतना फैलाउँदै आएको जानकारी दिँदै हालको परिस्थिति झन् चुनौतीपूर्ण बनेको बताएका छन् । उनले प्रविधिको विकाससँगै मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले मानव तस्करहरूलाई थप सहज बनाएको र सर्वसाधारणलाई प्रलोभनमा पार्न सजिलो भएको उल्लेख गरेका छन् ।
आचार्यले भने, ‘हामीले पहिलेदेखि नै ‘रात’, ‘छोरी’, ’टीकेको तीन मन्तर’ लगायतका कार्यक्रममार्फत मानव बेचबिखनविरुद्ध सचेतना जगाउने काम गर्दै आएका छौँ । तर अहिले यो समस्या चेलीबेटी बेचबिखनमा मात्र सीमित छैन, युवा, बालबालिका र विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गर्ने घटना बढ्दै गएका छन् । त्यसैले अब सचेतना अभियानलाई अझ वृहत रूपमा अगाडि बढाउन आवश्यक छ । मोबाइल र सामाजिक सञ्जालले राम्रो कामसँगै विकृति पनि बढाएका छन् । विदेशको लोभमा परेर धेरै नेपालीले दुःख पाइरहेका छन् । राजनीतिक अस्थिरताले देशमा रोजगारी बढ्न नसक्दा युवाहरू विदेशिन बाध्य भएका छन् । नयाँ सोच, नयाँ राजनीतिक संस्कार र सबैको सचेत प्रयासबाट मात्र मानव बेचबिखनजस्ता अपराध न्युनिकरण गर्न सकिन्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij