२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् । सोमबार आफ्नो ब्लगमार्फत अभिनेताले आफू अस्पतालमा भर्ना भएको, शल्यक्रिया गराएको र केही समय सघन उपचार कक्ष (आईसीयू)मा बसेको जानकारी दिएका छन्।
यद्यपि पोस्टमा उनले कहिले, कुन अस्पतालमा, किन र कति दिन उपचार गराए भन्ने विवरण भने सार्वजनिक गरेका छैनन्। ब्लगमा उनले लेखेका छन्,‘शल्यक्रियापछि अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीहरूको निगरानीमा आईसीयूमा बसेर उपचार गराएपछि घर फर्किनु नै सबैभन्दा कठिन चरण हुने रहेछ।’
उनका अनुसार यो समय शारीरिक, मानसिक र दैनिक जीवनका सबै पक्षबाट चुनौतीपूर्ण हुन्छ । उनले लेखेका छन्, ‘तपाईं जीवनभर सम्मानित विजेता हुनुभएको हुन्छ, तर एक दिन हार तपाईंको सामुन्ने उभिन्छ । यही जीवनको सबैभन्दा कठिन समय हो,’ । अमिताभले केही मानिस कठिन परिस्थितिसँग साहसपूर्वक जुध्ने र केहीले हार मान्ने गरेको उल्लेख गरेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘जसले हिम्मत हार्दैन र सङ्घर्ष गरिरहन्छ, ऊ सधैँ च्याम्पियन रहन्छ । जसले त्यसो गर्न सक्दैन, उसले विगतका उपलब्धिका आधारमा जीवन बिताउँछ। दुवै बाटो गलत होइन। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्,’ । ब्लग प्रकाशित गरेपछि उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘खेल समाप्त भयो तर काम भने जारी छ ।’
गत मे महिनामा अमिताभ बच्चन मुम्बईको नानावटी अस्पतालमा भर्ना भएको दाबी गरिएको थियो । त्यतिबेला केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनी मे १६ देखि अस्पतालमा उपचाररत रहेको खबर आएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij