२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपालका वाणिज्य बैंकहरूमा ब्याजदर घट्ने सिलसिला आगामी साउन महिनामा पनि निरन्तर रहने भएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता (नगद प्रवाह) रहेको तर सोही अनुपातमा कर्जाको माग बढ्न नसक्दा बैंकहरूले साउन महिनाका लागि निक्षेपको ब्याजदर थप कटौती गरेका हुन्।
नेपालका २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको साउन महिनाको नयाँ ब्याजदर तालिका अनुसार, असारको तुलनामा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदरमा गिरावट आएको छ।
सबैभन्दा धेरै ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यस बैंकले व्यक्तिगत तर्फ ०.७५ प्रतिशत र संस्थागत तर्फ १ प्रतिशतले ब्याजदर कटौती गरेको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगतमा ०.५ प्रतिशत र संस्थागतमा ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा एनएमबि बैंकले व्यक्तिगतमा ०.२५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले घटाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले ब्याजदर घटाएको छ ।
त्यस्तै, कृषि विकास बैंकले संस्थागत तर्फ ०.०३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत तर्फ मात्र क्रमशः ०.०६ प्रतिशत र ०.१ प्रतिशतले ब्याजदर कम गरेका छन्।
नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया र प्राइम कमर्सियल गरी १२ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
घट्दो ब्याजदरको यस प्रवृत्तिका बिच नेपाल बैंक लिमिटेडले भने संस्थागत तर्फको ब्याजदर अधिकतम ब्याजदरलाई ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ । ४ वर्ष वा सोभन्दा लामो अवधिको संस्थागत मुद्दतीमा नेपाल बैंकले सो बराबरको ब्याजदर तोकेको हो । यद्यपि यसको व्यक्तिगत तर्फको ब्याजदर भने ४।२५ प्रतिशतमा नै स्थिर रहेको छ।
नयाँ प्रकाशित दर अनुसार, साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले दिने छन् भने यी दुई बैंकले व्यक्तिगत तर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्।
अर्कोतर्फ, व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम ब्याजदर नै ३.८५ प्रतिशत मात्र ब्याज पाउने भएका छन्।
संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल बैंकले सबैभन्दा धेरै ४ प्रतिशत ब्याज दिनेगरी तोकेको छ । प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम २.७५ प्रतिशत मात्र ब्याजदर तोकेका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij