२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदन अनुसार विश्व राजनीतिमा देखिएका तनाव र अनिश्चितताका बाबजुद नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारोन्मुख दिशामा अघि बढेको देखिएको छ।
प्रतिवेदन अनुसार समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति औसत २.६६ प्रतिशतमा सीमित रही नियन्त्रणभित्रै रहेको छ। यस्तै, मुलुकको बाह्य क्षेत्र अत्यन्त बलियो स्थितिमा पुगेको छ। हाल नेपालसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
ब्याजदर घट्दो क्रममा, कर्जा नीति लचिलोबैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता रहेका कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ। आन्तरिक मागमा अपेक्षित सुधार नहुँदा कर्जा प्रवाहमा केही दबाब देखिए तापनि केन्द्रीय बैंकले अर्थतन्त्रलाई थप चलायमान बनाउन लचिलो नीतिगत व्यवस्थाहरू ल्याएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेका मुख्य व्यवस्थाहरू यस प्रकार छन्:
घर कर्जा: व्यक्तिगत घर कर्जाको सीमा बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ।
व्यक्तिगत ओभरड्राफ्ट: व्यक्तिगत ओभरड्राफ्ट (OD) को सीमा १ करोड रुपैयाँ कायम गरिएको छ।
सेयर धितो कर्जा: सेयर धितो कर्जाको एकल ग्राहक सीमा (Single Obligor Limit) लाई बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ।
मौद्रिक नीतिको यो लचिलो कार्यदिशाले निजी क्षेत्रको मनोबल बढाउने, लगानी भित्र्याउने र समग्र आर्थिक गतिविधि विस्तारमा ठूलो सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij