Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

पञ्चकन्या मन्दिरमा गौ माता प्रतिमा अनावरण

पञ्चकन्या मन्दिरमा गौ माता प्रतिमा अनावरण


  • 1.5K
    Shares

    पञ्चकन्या मन्दिरमा गौ माता प्रतिमा अनावरण
    images

    भोजपुर । यहाँको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौ माताको प्रतिमा अनावरण गरिएको छ ।

    धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो । एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठुलो भएको दाबी गाउँपालिकाले गरेको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार करिब रु १२ लाख लागतमा उक्त प्रतिमा निर्माण गरिएको हो । पञ्चकन्या मन्दिर निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर निर्माण समितिमार्फत गौ माताको प्रतिमा स्थापना गरिएको उनले जानकारी दिए ।

    मूर्ति दीर्घकालीन रूपमा सुरक्षित रहोस् भन्ने उद्देश्यले बलियो र गुणस्तरीय शिलाबाट निर्माण गरिएको भट्टराईले बताए । साथै गाउँपालिकाको करिब रु तीन लाख लागतमा शिव, गणेश, नाग र पञ्चकन्याका अन्य शिलामूर्तिहरू पनि मन्दिर परिसरमा स्थापना गरिएको छ ।

    पञ्चकन्या क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण र पूर्वाधार निर्माणका काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनका अनुसार यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष राईले पञ्चकन्या मन्दिरलाई ‘पूर्वको पशुपति’का रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । किंवदन्तीअनुसार यस क्षेत्रमा गाई आएर पञ्चकन्या देवीलाई दूध चढाउने विश्वास रहेकाले सोही आधारमा गौ माताको प्रतिमा निर्माण गरिएको उनले स्पष्ट पारे ।
     
    स्थानीयवासी निरप्रसाद फुँयालका अनुसार पञ्चकन्या देवी शक्तिशाली मानिन्छिन् र यहाँ दर्शन गरेमा मानिसका चिताएका इच्छा पूरा हुने जनविश्वास छ । मन्दिरको किंवदन्तीलाई आधार बनाएर गाउँपालिकाले थालेको संरक्षण र विकासको काम प्रशंसनीय रहेको उनले बताए ।

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - ०५:४३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij