२०८२ भाद्र ११ गते बुधवार
पाँचथर । पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नम्बर १-०१-००१ च ७७०६ नम्बरको एम्बुलेन्स गएराति २ः४० बजे फिदिम नगरपालिका-३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा पाँचथरको याङवरक गाउँपालिका-२ फलैँचाकी ५० वर्षीय ममता राईको मृत्यु भएको हो । गम्भीर घाइते राइलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो । उपचारका क्रममा आज बिहान ३ः४० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
दुर्घटनामा सोही ठाउँका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।
दुर्घटनापछि प्रहरीले एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । एम्बुलेन्समा चालकसहित चार जना सवार थिए । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij