Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि आक्रमण

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि आक्रमण


  • 274
    Shares

    इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि आक्रमण

    काठमाडौं । विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।

    थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो ।

    यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।

    होर्मुज स्ट्रेटमा समुद्रको चौडाइ ३३ किलोमिटर मात्र छ । तर जहाज चल्नसक्ने बाटो ११ किलोमिटर मात्र छ । बाँकी हिस्सामा कम गहिराइ भएकाले ठूला जहाज चल्न सक्दैनन् । त्यसैले यो साँघुरो बाटो खतरनाक मानिन्छ ।

    अन्य देशहरुले जस्तै भारतले पनि आफ्नो आवश्यकताको ठुलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास साउदी अरब, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सबाट यही स्ट्रेट अफ होर्मुजको बाटो हुँदै आयात गर्दछ ।

    अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाको बदलामा इरानले पनि अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी राखेको छ । इरानले तेल आपूर्तिको बाटो बन्द गर्ने चेतावनी दिएपछि होर्मुज स्ट्रेटमा पनि आक्रमण तीव्र बनेको छ । यसबाट विश्वभर तेल र ग्यास आपूर्ति प्रभावित भएको छ ।

    पछिल्लो ७२ घण्टामा होर्मुज स्ट्रेटको समुद्री बाटो हुँदै २ वटा अन्तर्राष्ट्रिय ट्यांकर मात्र पार हुन सकेका छन् । थप आक्रमणको त्रासका कारण ठुला सिपिङ कम्पनीहरूले होर्मुज स्ट्रेटको बाटो प्रयोग गर्न छाडेका हुन् । सीमित मात्र जहाज चलिरहेको र ती पनि आक्रमणको निशानामा परेपछि आपूर्ति थप प्रभावित भएको छ । गुजरात आउँदै गरेको जहाजमा आक्रमण भएपछि भारत सरकारले निन्दा गरेको छ ।

    होर्मुज स्ट्रेटको विकल्पमा भारतीय बन्दरगाहका लागि आउने जहाजहरू अफ्रिकाको बाटो हुँदै घुमेर आउनुपर्ने र यो वैकल्पिक मार्ग प्रयोग गर्दा भारत यात्रा करिब २ हप्ता बढी समय लाग्ने बताइन्छ । यसले ढुवानी र बीमा शुल्क बढी लाग्ने भएकाले भारत आयात हुने सामानको मूल्य पनि बढ्ने छ ।

    मध्यपूर्वको तनावका कारण इन्धन आपूर्ति प्रभावित हुँदा विश्वभर तेलको मूल्य बढेको छ । विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघिसकेकाले भारतमा पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भारी वृद्धि हुने संकेत देखिएको छ ।

    मध्यपूर्वको तनावका कारण विश्वभर देखिएको इन्धन आपूर्तिको अभाव कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल विश्व बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - ०८:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij