२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशन डेब्यु फिल्म ‘पार्वती’को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्मको दुई वटा पोस्टरमा फर्स्ट लुक्सको रूपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक दुवै पोस्टरमा निर्देशकसमेत रहेकी अभिनेत्री नीता मुख्य भूमिकामा छिन्, जसमध्ये एक पोस्टरमा नीता स्कुले छात्राको पोसाकमा देखिएकी छन् । उक्त पोस्टमा उनी छोटो कपाल, घाँटीमा कालो धागो र नीलो फ्रकमा एक सामान्य विद्यार्थीभन्दा केही फरक देखिन्छिन् । अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेका छन् ।
आगामी भदौ १२ मा प्रदर्शन हुने फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय छ । नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने सुदिप बरालको डीओपी रहेको फिल्ममा शिवम् अधिकारीको संवाद छ ।
युवराज काफ्ले, हर्क साउद, बाबुल गिरी र सिद्धार्थ सरकार पौडेलको गीत रहने फिल्ममा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत, रामजी लामिछानेको नृत्य छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij