२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौं । कपिलवस्तुको चन्द्रौटामा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
गत वैशाख १९ गते राति शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा-कृष्णनगर सडक खण्डमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका उनीहरूलाई सोधपुछ गर्दा प्रहरीमाथि नै जाइलागेपछि नियन्त्रणमा लिइएको हो।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले होटल प्याराडाइज अगाडि उनीहरूलाई फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेहरूमा अन्जना तामाङ, प्युठान वर्षा सुनार, मनोज गुप्ता, दीपेन्द्र कुमार चौधरी र रन्जित चौधरी रहेका छन् ।
उनीहरूले रातिको समयमा ड्युटीमा रहेका महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी अश्लील शब्द प्रयोग गरेको र गालीगलौज गर्दै प्रहरीको काममा बाधा पुर्याएको प्रहरीको दाबी छ।
प्रहरी टोलीले सम्झाउन खोज्दा उल्टै चर्को स्वरमा होहल्ला गरी अशान्ति मच्चाएपछि उनीहरूलाई सोही स्थानबाट तत्काल नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका पाँचै जनामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी थुनामा राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij