२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लन्डनले नेपालका फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गर्दै सम्मानित गरेको छ।
नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। यो सम्मान सन् २०२६ अप्रिल ३० मा काठमाडौंमा आयोजित २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहका अवसरमा प्रदान गरिएको हो।
दुई दशकभन्दा बढी समयदेखि फोटो पत्रकारितामा सक्रिय वन्तले आफ्नो क्यामेरामार्फत नेपाली समाजका विविध पक्षलाई उजागर गर्दै आएका छन्। राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्षसमेत रहेका वन्त राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन्।
अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ल्ड बुक अफ रेकर्डद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सफल, ख्यातिप्राप्त तथा विविध क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ। कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ र बसुन्धरा भुसाल, नृत्य निर्देशन वसन्त श्रेष्ठ, फिल्म निर्देशक तुलसी घिमिरेलाई सम्मानित गरिएको छ। त्यस्तै, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा योगदान पु¥याएका डा. प्रेम शाह, डा. शान्ति नाथ श्रेष्ठ, डा. ओजस्वी शेरचन र भारतीय नागरिक डा. सतीश शुक्ला, डा. प्रिया शर्मा, डा. प्रियंका शुक्ला, डा. तिथी भल्ला र डा. मधुर टेम्लेलाई सम्मानित गरिएको छ।
सुरक्षा तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका कल्याणकुमार तिमिल्सिना, सांसद तथा आरोही मिङ्मा डेविड शेर्पा र सांसद धनंजय रेग्मी पनि सम्मानित भएका छन्। यसैगरी, भारतीय उद्योग तथा व्यवसाय क्षेत्रका मोहितकुमार कर्णामी, गुरप्रीत सिंह र विवेक जैनलगायतलाई पनि सम्मानित गरिएको छ। त्यस्तै, साहित्य तथा सिर्जनात्मक क्षेत्रमा उषा शेरचन, फेशन कोरियोग्राफर रोजिन शाक्य, कलाकार मनीषा कोईराला र फिल्म निर्माता विष्णु गोपाल श्रेष्ठलाई पनि अवार्ड प्रदान गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij