२०८३ बैशाख २० गते आइतवार
काठमाडौं । दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन सुरु गरेका छन् । आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग राख्दै शाहको आलोचनासहित प्रदर्शन गरेका हुन् ।
सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्णका आफन्तले भेट्न प्रयास गर्दा पनि प्रधानमन्त्रीले समय नदिएपछि आफूहरू सडकमा उत्रिनुपरेको उनीहरूले बताएका छन् ।
संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालिले श्रीकृष्णको प्रहरी चौकीमै हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिएका छन् ।
संयोजक श्रीपालिले सरकारले गठन गरेको छानबिन समितिप्रति आशङ्का व्यक्त गरेका छन् । प्रहरी र प्रमुख जिल्ला अधिकारी गृह प्रशासनकै अङ्ग भएकाले गृह प्रशासनकै मातहतबाट बनेको समितिले निष्पक्ष प्रतिवेदन ल्याउनेमा आफूहरूलाई विश्वास नरहेको उनले बताएका छन् । घटना खुर्कोट प्रहरी चौकीमै भएकाले छानबिन पनि त्यहीँबाटै सुरु हुनुपर्ने र परिवारका सदस्यले न्यायका लागि मुद्दा दर्ता गर्न पाउनुपर्ने उनको माग छ ।
विरोध प्रदर्शनका क्रममा सहभागीहरूले दलितमाथि हुने सबै प्रकारका हत्या र हिंसाको अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij