२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको छ ।
बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको बोलेरो जिप दुर्घटनामा परेको थियो । ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका-१५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
दुर्घटनामा एक जना घाइते भएका थिए । घाइते समीर कामी सिस्ने ५ का हुन् उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको प्रहरीको भनाइ छ ।
ज्यान गुमाएकाहरूमा सिस्ने-५, टाकुरा, रुकुम पूर्व घर भएका गोर्ख बहादुर बुढाथोकी, तिलकुमारी बुढाथोकी, युवा बुढाथोकी, दिव्यन बुढाथोकी, सृजना बुढाथोकी, सुदीप बुढाथोकी, ओमकुमारी बुढाथोकी, मीना कामी, लक्ष्मी शाह र रुक्मिणा बस्नेत रहेका छन् । भुमे-५, रुकुम पूर्व घर भएका टेकप्रसाद बुढामगर रहेका छन् ।
त्यसैगरी दाङको घोराही-१५, रतनपुर घर भएकाहरूमा दोरपती जिसी, तिला जिसी, जेनिस जिसी, जेनिसा जिसी, एलिना जिसी, संयोग जिसी, यमबहादुर जिसी, धनमाया विष्ट र बेदु कामी रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij