२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाएका छन् ।
१३७ औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सरकारले सुकुम्बासी, मजदुर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत बेवास्ता गरिरहेको सहसंयोजक नेपालको भनाई थियो ।
उाले सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको जिकिर समेत गरेका छन् । उनले सरकारलाई गलत बाटोमा जान नदिने सावधान गराउनुपर्ने अवस्था आएको समेत बताएका छन् । सहसंयोजक नेपालले सरकारले जनतालाई पीडा र यातना दिने काम गर्न नमिल्ने पनि बताएका छन्।
उनले भने,‘ यो सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । मजदुर विरोधी काम गरिरहेको छ । ट्रेड युनियन अधिकार विरोधी काम गरिरहेको छ । जनताको बास बस्ने अधिकारलाई खोसी रहेको छ । रोजगारीको अधिकार जनताको अधिकार हो । त्यसलाई पनि बेवास्ता गरिरहेको छ । त्यसो हुनाले पनि हामीले सरकारलाई अहिले नै सावधान गराउनु पर्छ । तपाईंको एक सय दिन पनि पूरा भएको छैन । तर लक्षण राम्रो देखाइरहनुभएको छैन । भावना पवित्र छ भने चाल्ने कदम पनि उचित र जायज हुनुपर्छ । नाजायज होइन । अहिले नै हामी आरोप लगाईरहने पक्षमा छैनौ । तर हामी तपाईलाई समय दिन चाहन्छौँ । मौका दिन चाहन्छौँ । जनविरोधी काम नगर्नुहोस् । जनतालाई पीडा र यातना दिन काम नगर्नुस् । अहिले त्यसको अगुवाई गर्ने काम मजदुरहरुले गर्नुपर्छ ।’
सहसंयोजक नेपालले सरकारको गलत कामको विरोध गर्न पनि पार्टीमा आवद्ध मजुदुर नेताहरुलाई निर्देशन दिएका छन्। उनले सरकारका कदम जायज र उचित नभएकाले त्यसको विरोध गर्नुपर्ने अवस्था आएको दाबी समेत गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij