२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीले लेखन तथा निर्माण गरेको लघुचलचित्र बुख्याँचाले प्रथम पुरस्कार प्राप्त गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार साँझ सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा लघुचलचित्र ुबुख्याँचाुले नगद राशी दुई लाख रुपैयाँसहित प्रथम पुरस्कार गरेको छ ।
अमरकर्तव्यका एकशंकर पौडेलले रु एक लाख ५० हजार नगदसहित द्वितीय र अडानका निर्माता राम नरेशले तृतीय घोषित भई रु एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलले विसं २०८२ को लघुचलचित्र प्रतियोगिताका तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरेका थिए ।
नेपाली सेनाले संगठन स्थापना दिवसका अवसरमा राष्ट्रिय विकास, विपद व्यवस्थापन, प्रकृति तथा पर्यावरण संरक्षण, राष्ट्रिय एकताको प्रवर्धन र अन्तर्राष्ट्रिय शान्ति कार्यमा पुर्याएको योगदानसम्बन्धी विषयमा लघुचलचित्र निर्माण गर्न आह्वान गरेको थियो । प्रतियोगिताका लागि ३४ वटा निवेदन परेकामा १० वटा स्क्रिप्ट छनोट गरी चलचित्र निर्माणका लागि सेनाले आवश्यक सहयोग र सहजीकरण गरेकामा ती तीन चलचित्र छनोट भएका हुन् । त्यस अवसरमा महाशिवरात्रि तथा सेना दिवस २०८२ का अवसरमा आयोजित नेपाली सेना फोटो प्रदर्शनीका उत्कृष्ट युनिट तथा निर्देशनालयलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा शार्दुलजंग गुल्म प्रथम, सैनिक कल्याणकारी निर्देशनालय दोस्रो र प्रतिविद्रोह तथा जंगल शिक्षालय तृतीय घोषित भए । प्रधानसेनापति सिग्देलले कार्यक्रममा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक, २०८२ मा प्रकाशित उत्कृष्ट तीन लेखका सर्जक चन्द्रदेव भट्ट, सहायकरथी दिलविक्रम सुब्बा र महासेनानी ईश्वर बुढाथोकीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले निर्देशनालयले नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्दै नागरिक, सेना र संचारजगतबीच पुलका रुपमा काम गरिरहेको बताए ।
सैनिक जनसम्पर्क निर्देशक बस्नेतले सेना र संचारजगतले हरेक तहमा साझेदारी र सहकार्य गर्दै राष्ट्रिय सुरक्षासँग संवेदनशील सूचनाको व्यवस्थापन र पारदर्शीताकासाथ सन्तुलन कायम गर्न जरुरी देखिएको बताए । सेनासम्बन्धी सही र तथ्य सूचना संप्रेषण गर्न विसं २०५८ चैत २० गते निर्देशनालयको स्थापना भएको थियो । सेनाले यस अवधिमा विभिन्न स्थानमा रक्षा समाचारदाताका लागि अभिमुखीकरण गरेको थियो। हालसम्म ६८३ जना संचारकर्मीले उक्त कार्यक्रममा सहभागी भइसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij