२०८३ बैशाख १५ गते मंगलवार
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६.१६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २७७० अंकमा झरेको छ । अघिल्लो दिन नेप्से ७.७ अंक बढेको थियो ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५३ करोडको भयो । बैंक तथा वित्तीय संस्थाहरूको वर्चस्व रहेको सेयर बजारमा ती संस्थाहरूको केही सकारात्मक वित्तीय विवरण सार्वजनिक हुँदा पनि बजारमा प्रभाव देखिएन ।
मंगलबार सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांशको नाफासँगै प्रतिसेयर आम्दानीमा सुधार आएको छ ।
लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) पनि केही घटेको छ । धेरैजसो संस्था लाभांश दिन सक्ने क्षमतामा देखिएका छन् । यद्यपि नउठेको ब्याज तथा साँवा असुलीमा भने उत्तिकै चुनौती देखिएको छ । जसले गर्दा तथ्यांकमा बढेको नाफाको प्रभाव बजारमा देखिएन ।
त्यस्तै उद्योगी व्यवसायीमाथि भएको धरपकड असर बजारमा केही दिनदेखि नै देखिँदै आएको छ । बीचमा केही दिन बजार सामान्य अंक बढ्ने गरे पनि अधिकांश दिन ठूलै अंकले घटेको देखिन्छ ।
मंगलबार जम्मा ४२ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने १४ को स्थिर रह्यो । अन्यबाहेक सबै समूहका सूचक घटे । अन्य समूह ०.७३ प्रतिशत बढ्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५६ प्रतिशत घट्यो । त्यस्तै उत्पादन तथा प्रशोधन समूह २.४६ प्रतिशत घट्यो ।
बैंकिङ ०.८४, विकास बैंक १.२२, हाइड्रोपावर १.७४, लगानी ०.४७, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.३९ तथा व्यापार ०.३९ प्रतिशत घटे ।
कुनै पनि कम्पनीको मूल्यमा आज दोहोरो वृद्धिदर हुन सकेन । हिमालयन बैंक डिबेन्चर ८६ को मूल्य सबैभन्दा धेरै ६, साइन रेसुङ्गा विकास बैंक डिबेन्चरको ३.४०, सानिमा डिबेन्चर २०८९ को ३.१७ प्रतिशत मूल्य बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत घट्यो । रिजलाइन इनर्जीको १०.२७, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ९.९४, सिटी होटलको ९.२५ तथा भुजुङ हाइड्रोपावरको ८.५६ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र कुमारी बैंक छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij