२०८३ बैशाख १५ गते मंगलवार
काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो ।
बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् ।
जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ४१ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका थिए ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफामा सर्वाधिक वृद्धिदर कुमारी बैंकको रहेको छ । यस बैंकले चालू आवको तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशत बढी हो । त्यसबेला बैंकले २८ करोड ५८ लाख मात्रै नाफा कमाएको थियो ।
नाफामा सबैभन्दा बढी गिरावट प्रभु बैंकको देखिएको छ । यस बैंकको नाफा ५४ प्रतिशतले घट्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३० प्रतिशतले घटेको छ ।
धेरै नाफा गर्ने नबिल
नबिल बैंकले रकमका आधारमा सबैभन्दा धेरै अर्थात् ९ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ। उच्च मुनाफा गर्नेमा नबिल बैंक पहिलो स्थानमा कायमै छ। यसको नाफामा ३३.९२ प्रतिशतको वृद्धि भएको हो।
दोस्रो धेरै नाफा ग्लोबल आईएमई बैंकले गरेको छ। उसले ४ अर्ब ४० करोड १९ लाख ७८ हजार रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ। यद्यपि यो नाफा यसअघिको तुलनामा २.९३ प्रतिशतले कम हो।
तथ्याङ्क अनुसार २० वटा बैंकहरूमध्ये १३ वटाको बढ्दा ७ वटाको नाफा घटेको छ। यसले बैंकिङ क्षेत्रमा व्यावसायिक प्रदर्शन एकनासको नरहेको र बैंकहरूबीच तीव्र प्रतिस्पर्धा रहेको देखाउँछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij