२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारी साधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।
काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा गत मङ्गलबार महानगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले काठमाडौँ भित्रका सबै सार्वजनिक यातायातका साधनलाई गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकले तीन दिनभित्र सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय गरेसँगै आज बिहानैदेखि धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक बस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।
काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि महानगरपालिकाले २०५६ सालमा नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । अधिकांश जिल्लामा जाने सवारी साधन नयाँ बसपार्क भित्रबाटै चल्ने भएपनि नुवाकोट, रसुवा र धादिङ जिल्लामा चल्ने सवारीसाधन भने माछापोखरी क्षेत्रमा काउण्टर र पार्किङ बनाएर सञ्चालन गरिँदै आएका थिए ।
काठमाडौँ महानगरपालिका-२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भएपनि नुवाकोट, रसुवा तथा धादिङ चल्ने सवारीसाधन भने नयाँ बसपार्क नजिकै रहेको माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका थिए । यसअघि गोँगबु चोकदेखि नयाँ बसपार्क बीचको सडकबाट सञ्चालन हुँदै आएका पृथ्वीराजमार्गमा चल्ने बस तथा माइक्रोबस हाल नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् ।
तर, धादिङ, रसुवा र नुवाकोट चल्ने सवारी साधनका चालकले नयाँ बसपार्कभित्रबाट चलाउन अटेर गर्दै आएका थिए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जथाभावी रुपमा सडकमा पार्किङ गरेर यातायातका साधन सञ्चालन गरिँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए ।
लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज भएको प्रवक्ता सुवेदीले बताए । महानगरको उक्त निर्णय कार्यान्वयन गरेसँगै चक्रपथ वरपर हुने ट्राफिक जाम कम हुने प्रवक्ता सुवेदीले बताए ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नुवाकोट, रसुवा र धादिङ सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई बसपार्कबाट छुट्टै ‘ट्रयाक’को व्यवस्था गरिएकोे बताए । यस्तै, उक्त दूरीमा जाने सवारीसाधनका लागि छुट्टै टिकट काउण्टरको समेत व्यवस्था मिलाइएको उनले बताए ।
यातायात कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै २० लाख हाराहारीमा सवारी साधन सञ्चालनमा छन् । पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटो विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij