२०८३ बैशाख ९ गते बुधवार
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौँका सीडीओसहितका उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेका छन् । साँझ ६ बजेदेखि सुरु भएको छलफल राति करिब ११ बजेसम्म चलेको थियो ।
छलफल के विषयमा केन्द्रित थियो भन्ने खुलाइएको छैन । राति करिब ११ बजे मन्त्रालयबाट बाहिरिनेक्रममा सञ्चारकर्मीले ठूला माछा समात्न लागिएको हल्ला छ नि ? भन्ने प्रश्न गर्दा गृहमन्त्रीले ‘पछि भनौँला’ भन्ने जवाफ दिए ।
उनीहरूबीच छलफल चलिरहँदा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी गृहमन्त्रालय पुगेका थिए । तर उनले आफूले गृहमन्त्री व्यस्त भएकाले प्रशासनका कर्मचारी भेटेर निस्किएको सुनाए ।
उनले गोरखाको एक जनाको समस्या सुनाउन काठमाडौँका सीडीओलाई फोन गरेको र उनले आफू गृहमन्त्रालय रहेको बताएपछि आफू यहीँ आएको दाबी गरे ।
‘गृहमन्त्रीज्यू आईजी, काठमाडौँको सीडीओसापहरूसँग छलफल हुनुहुँदो रहेछ । मैले उहाँलाई भेटेको छैन,’ बुर्लाकोटीले भने, ‘गृहमन्त्रालय भनेको चुप लागेर बस्न पाउने मन्त्रालय होइन । त्यो कारणले मन्त्रीज्यूले आफ्नो तरिकारले काम गर्दै हुनुहुन्छ । गृहसचिवज्य पनि यहीँ बाटैमा भेट हुनुभयो । उहाँ मन्त्रीज्यूकोमा जाँदै हुनुहुँदो रहेछ । गृहमन्त्री छलफलमा हुनुहुँदो रहेछ मैले उहाँलाई डिस्टब गरिनँ’ उनले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij