२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकले गत चैत्र २८ गते खोटाङकी १७ वर्षीया किशोरीसँग प्रेमविवाह गरे।
आफ्नी छोरी हराएपछि ती किशोरीका परिवारले सातदोबाटो प्रहरी चौकीमा उजुरी दर्ता गरे। प्रहरीमा उजुरी परेपछि वैशाख ३ गते श्रीकृष्ण र किशोरीलाई प्रहरी चौकीमा बोलाइयो।
किशोरीका आफन्तले आफ्नी छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा प्रहरीमा जाहेरी दर्ता गरिदिए। प्रहरीले ती किशोरीलाई आफन्तको साथमा घर पठायो भने श्रीकृष्णलाई थप अनुसन्धानका लागि सिन्धुली प्रहरीको जिम्मा लगायो।
सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका श्रीकृष्णले थुनुवा कक्षको भेन्टिलेटरमा सर्टको पासो लगाएर आत्महत्या गरे।
सोमबार साँझ ६ बजेतिरको समयमा आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। वैशाख ४ गते सिन्धुली ल्याइएकोमा थुनुवा कक्षमा उनी एक्लै रहेको सुनकोसी गाउँपालिका–४ का अध्यक्ष चन्द्र श्रेष्ठ बताउँछन्।
‘हिरासतमा श्रीकृष्ण मात्रै थियो। अस्ति पनि हामी भेट्न आएका थियौँ,’ उनले भने, ‘हिजो पनि एक्लै नै थियो रे। प्रहरीहरु दायाँबायाँ लागेको बेला आत्महत्या गरेछ। हामीलाई ६ः१८ बजे प्रहरी कार्यालयबाट घटनाको जानकारी गराउन फोन आएको थियो।’
वडाध्यक्ष श्रेष्ठका अनुसार श्रीकृष्णले अन्तरजातीय बिवाह गरेका थिए। दलित समुदायका उनले जनजाती समुदायको नाबालिकासँग बिवाह गरेको कारण परिवारले नाबालिकालाई फिर्ता लगेर जबरजस्ती करणीको मुद्दा लगाइदिएको श्रेष्ठ बताउँछन्।
हिरासतभित्रै आत्महत्या प्रयास गरेका उनलाई प्रहरीले सुनकोसी सामुदायिक अस्पताल लगेको थियो। त्यहाँबाट थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। हाल उनको शव सिन्धुली अस्पतालमै राखिएको छ।
पाँच दाजुभाइमध्ये श्रीकृष्ण माइलो छोरा हुन्। उनका बाबुको केही वर्षअघि नै मृत्यु भइसकेको थियो। आमा बिन्दा छोराको असामयिक निधनले शोकाकुल बनेकी छन्। प्रहरीको लापरबाहीका कारण श्रीकृष्णको मृत्यु भएको आफन्तको आरोप छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij