२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौँ । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै जेलमै रहेको खुलासा भएको छ ।
उनकी दिदी पूजा झासँग आज कुरा भएपछि यसबारे खुलेको हो । पूजाले भनिन्, 'आज मेरो भाइले फोन गरेको थियो, आफू अझै जेलमा रहेको कुरा भन्यो ।'
नेपाल सरकारले नै अमृत रिहा भएको घोषणा गरेको थियो । सरकारले किन ढाट्यो थाह छैन तर अमृत अझै जेलमा रहेको र त्यहाँ वकिलले अनुसन्धान जारी रहेको अमृतलाई जानकारी गराएको उनले बताइन् ।
केही दिनअघि परराष्ट्रमन्त्री शिशिर खनालले अमृत रिहा भएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।
मन्त्री खनालले अमृतको रिहाइका लागि इरानको स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरलमार्फत अनौपचारिक रूपमा मन्त्रालयमा प्राप्त भएको बताएका थिए ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनेसम्मको तयारी गरिएको उल्लेख थियो, जहाँ तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको पनि जनाइएको छ ।
तर उक्त कदमको दुई दिन बितिसक्दा समेत अमृत परिवारको सम्पर्कमा आएका थिएनन् । यो खबर थाहा पाएलगत्तै अमृतको परिवार खुसी भएका थिए । तर अमृत भने सम्पर्कमा नआएपछि उनीहरू पुनः चिन्तामा थिए । र आज अमृत इरानमा अझै बन्धन रहेका उनकी दिदीले पुष्टि गरेकी हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij