२०८३ बैशाख ६ गते आइतवार
१. सांसद झाँक्रीको प्रश्नः मट्टितेलमा आन्दोलन गर्ने विद्यार्थी संगठनहरू चामल र पेट्रोलको मूल्यवृद्धिमा किन मौन ?
पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । आईतवार काठमाडौंमा विद्यार्थी संगठनहरूको भुमिका र वर्तमान सामाजिक अवस्थाबारे आयाजित कार्यक्रममा बोल्दै उहाँले विद्यार्थी आन्दोलन आफ्नो साख र एजेण्डाबाट च्युत भएको तर्क गर्नुभएको हो । उहाँले बजारमा चामलको मूल्य एकै चोटी बोरामा साढे तीन सय रुपैयाँ बढ्दा पनि उपभोक्ता र विद्यार्थी संगठनहरूले प्रतिकार नगरेकोमा अचम्म व्यक्त गर्नुभयो । जनता र विद्यार्थीले मूल्यवृद्धिलाई ‘रिभेन्ज’ (बदला) का रूपमा हेरेर चुप बसेको हुनसक्ने उहाँको अनुमान छ । झाँक्रीले आन्दोलन एकै चोटी नहुने र यसका लागि वैचारिक तयारी चाहिने बताउनु भयो ।
२. सत्याग्रही धर्मेन्द्रकुमार कर्णद्वारा आमरण अनसनको घोषणाः सरकारलाई ५ बुँदे माग पेश
जनकपुरधामका अभियन्ता तथा सत्याग्रही धर्मेन्द्रकुमार कर्णले आमरण अनसनको घोषणा गर्नुभएको छ । अर्थतन्त्रको लागत घटाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने आफ्नो प्रश्तावमा सरकारले कुनै चासो नदेखाएको भन्दै उहाँले आमरण अनसनको घोषणा गर्नुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साह र मुख्यमन्त्री कृष्ण प्रसादयादव समक्ष आफ्नो गुनासो राखेको तर सुनुवाइ नभएको दाबी गर्नुभयो । माध्यमिक क्षेत्रमा गुणस्तरीय शिक्षाको सुनिश्चितता प्रवद्र्धन गर्ने र शिक्षा क्षेत्रको लागत घटाउने शिक्षण विधिको प्रचलनका लागि आम जनताको तर्फबाट गरिएको अर्थतन्त्रको लागत घटाउने प्रश्तावमा चासो नदिने कारणबारे मुख्यमन्त्री कृष्णप्रसाद यादवले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।
३. विद्यार्थी संगठन खारेज गर्नेकुरा सह्य हुँदैन, आवश्यक परे लोगो फुकालेर सडकमा आउँछुः सांसद महर
नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिवन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताउनुभएको छ । आईतवार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताउनुभएको हो । उहाँले विद्यार्थी संगठनलाई खारेज गर्नेकुरा ‘बेतुका’ भएको टिप्पणी गर्नुभयो । वर्तमान सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातीत रहेको बताउनु भयो । वर्तमान सरकारलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया नभएको बताउनु भयो । उहाँले सरकारले ल्याएको शासकीय सुधारको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेजीको आशय लुकेको भन्दै त्यसको भोलिपल्टै देश ठप्प पार्नुपर्नेमा विद्यार्थी नेतृत्व अझै किन मौन रहेको भनी प्रश्न समेत गर्नुभयो ।
४. पार्टीलाई गाउँको जरादेखि डिजिटल स्क्रिनसम्म पु¥याउने र १५ औँ महाधिवेशनमार्फत एकता सुदृढ बनाउने काँग्रेसको रणनीति
नेपाली काँग्रेसभित्र यतिबेला एउटा नयाँ तरङ्ग पैदा भएको छ— ‘जरा अभियान’ । निर्वाचनमा व्यहोर्नुपरेको पराजय र जनतासँग टाढिँदै गएको संगठनलाई फेरि जीवन्त बनाउन काँग्रेसले नयाँ तरिकाले अघि बढिरहेको छ । केही दिनअघि मात्रै पार्टी सभापति गगनकुमार थापाले अभियानको शुभारम्भ गर्नुभएको थियो । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ केबल एउटा औपचारिकता नभई काँग्रेसलाई आधुनिक युग सुहाउँदो ‘डिजिटल पार्टी’ बनाउने महाअभियान भएको बताउनु भयो ।
५. नेपाली टोली छैटौं एशियन बिच गेम्स खेल्न जाँदै
छैटौं एशियन बिच गेम्स २०२६ मा प्रतिष्पर्धा गर्ने दुई खेलका खेलाडीलाई चीन प्रस्थान गर्दैछन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आईतवार कार्यालय सातदोबाटोमा खेलाडीहरुलाई बिदाई गरेको हो । चीनको सानियामा हुने छैटौँ एसियन बीच गेम्सका लागि नेपालको तर्फबाट २ वटा खेलले सहभागिता जनाउनेछ । नेपालबाट महिला कबड्डी टिम र कुस्तीले नेपालको तर्फबाट छैटौँ एशियन बीच गेम्समा प्रतिष्पर्धा गर्नेछन् । नेपालको लागि यस प्रतियोगितामा कबड्डीबाट ६ खेलाडीसहितको टिम र कुस्तीमा पुरुषतर्फ २ र महिलातर्फ १ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । पुरुषतर्फ सुरेश चुनाराले ८० किलोमा प्रतिष्पर्धा गर्नेछन् भने त्रिलोकी प्रसाद यादवले ९० केजी माथिको तौलमा प्रतिष्पर्धा गर्नेछन् । महिलातर्फ सुशिला चन्दले ७० केजीमा प्रतिस्पर्धा गर्नेछिन् ।
६. निर्वाचन जित्न अब एल्गोरिदम र ब्ल्याक ह्याटसँग लड्न सक्नुपर्छः महामन्त्री पौडेल
नेपाली काँग्रेसका प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री र सांगठनिक रूपमा चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । पौडेलले पार्टीको डिजिटल उपस्थिति र आन्तरिक संगठन सुदृढीकरणका लागि गम्भीर हुन आह्वान गर्नुभएको हो । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अबको चुनाव परम्परागत शैलीबाट मात्र जित्न नसकिने स्पष्ट पार्नुभयो । महामन्त्री पौडेलले सामाजिक सञ्जालमा पार्टीको प्रभाव बढाउन केन्द्रको डिजिटल युनिटले गर्ने पोस्टहरूलाई तल्लो तहसम्म पु¥याउनुपर्ने बताउनु भयो । यो अभियान पार्टीलाई जिताउन र संगठन विस्तारका लागि भएको उहाँको भनाइ छ । पार्टीका पुराना सदस्यहरूको रेकर्ड व्यवस्थित गर्न बैंकको ‘केवाइसी’ जस्तै सदस्यता अध्यावधिक गर्न लागिएको पौडेलले जानकारी दिनुभयो ।
७. देशभरका बालबालिकालाई आईतवार र सोमवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सरकारले आईतवार र सोमवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ६ महिनादेखि ५९ महिना सम्मका करिव २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका करिव २० लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइँदैछ । अभियानअन्तर्गत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीहरू देशभरका विभिन्न खोप केन्द्रहरूमा परिचालन गरिएका छन् । प्रत्येक वर्षको कात्तिक र वैशाखमा सञ्चालन हुने यो कार्यक्रमले बालबालिकाको आँखाको ज्योति रक्षा, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, र कुपोषण न्युनिकरणमा महत्वपूर्ण भुमिका खेल्ने चिकित्सकहरूले बताएका छन् ।
८. देउवा–खड्का समूहको छलफलः सर्वोच्चको फैसलापछि रणनीति बनाउँदै
नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा र निःवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौंमा छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनविरूद्ध देउवा–खड्काले दिएको रिट खारेज गरिदिएको थियो । त्यसपछि शनिवार र (आज) आईतवार पनि देउवा–खड्का समूहका नेताहरू छलफलमा छन् । शनिवार खड्का निवास गोल्फुटारमा छलफल भएकोमा आज धुम्बाराहीमा छलफल भएको हो । छलफलमा खड्का, नेताहरू विमलेन्द्र निधी, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मिनबहादुर विश्वकर्मा, रामहरि खतिवडा लगायत सहभागी छन् । अदालतको पछिल्लो फैसलाले काँग्रेस भित्रको आन्तरिक राजनीतिमा नयाँ मोड ल्याएको छ । देउवा–खड्का पक्षले आफ्नो आगामी रणनीति तय गर्न यो बैठक डाकेको बुझिएको छ ।
९.जगद्गुरु रामभद्राचार्यले प्रधानमन्त्री साहलाई भनेः भारतप्रतिको दृष्टिकोण शुद्ध होस्
प्रसिद्ध कथावाचक एवं भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ । जनकपुरधाममा जानकी नवमीको अवसरमा भ्रमणका लागि आउनुभएका उहाँले यस्तो बताउनुभएको हो । नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो हुने भन्दै नेपाल कुनै पनि देशको भर पर्नु नहुने बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहको आलोचना गर्दै साहको रवैया राम्रो नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री साहसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको उहाँले बताउनु भयो । उहाँको भारतप्रतिको दृष्टिकोण शुद्ध हुनुपर्ने र भारतविरोधी हुनु नहुने बताउनु भयो । साहमा हिन्दुत्वप्रति आकर्षण र प्रेम हुनु आवश्यक रहेको बताउनु भयो ।
१०. असनमा ‘भेइकल फ्रि’ शनिवारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’
काठमाडौंको ऐतिहासिक असन बजार अहिले एउटा नयाँ प्रयोगबाट गुज्रिरहेको छ । महानगरपालिकाले हरेक शनिवार असन क्षेत्रलाई ‘सवारी मुक्त’ बनाउने निर्णय गरेपछि यहाँको डबली र गल्लीहरूमा नयाँ बहस शुरु भएको छ । के यो सम्पदा जोगाउने कडी हो कि व्यापार सुकाउने एम्बुस ? नुनदेखि सुनसम्म पाइने, इतिहासदेखि वर्तमानसम्म जोडिएको र बालबालिकादेखि वृद्धवृद्धासम्मको स्मृतिमा बसेको ठाउँ हो— असन । काठमाडौं महानगरपालिकाले यहाँको सांस्कृतिक ओजलाई फर्काउन हरेक शनिवार सवारी आवातजावतमा प्रतिवन्ध लगाएको छ । वैशाख ५ गते शनिवारबाट कार्यान्वयनमा समेत आइसकेको छ । तर यो निर्णयले स्थानीय व्यवसायी र जनप्रतिनिधिबीचको बुझाइमा भने ठूलै खाडल देखिएको छ ।
११. ‘बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’
जब चैत, वैशाखको चञ्चल बतासले हिमालका काखबाट सुस्तरी बगेर उपत्यका भित्रिन्छ, तब काठमाडौंले एउटा भिन्नै अवतार धारण गर्छ । धुलो र धुँवाको बाक्लो पर्दालाई चिर्दै शहरको मुटुमा यतिबेला ‘ज्याकाराण्डा’ का नीलाभ–बैजनी फूलहरू यसरी मुस्कुराइरहेका छन्, मानौँ आकाशले धर्तीमा आफ्नो सुन्दरताको मसी पोखिदिएको छ । शहरका व्यस्त सडकहरूमा यतिबेला मात्र ट्राफिक जाम छैन, त्यहाँ त वसन्तको एउटा कव्यात्मक उत्सव चलिरहेको छ । सुन्धारादेखि दरबारमार्गसम्म, अनि रत्नपार्कदेखि जमलका गल्लीहरूसम्मका ज्याकाराण्डाका रुखहरू फूलको भारले निहुरिएका छन् । ती डालीहरूबाट खसेका फूलका गुच्छाहरूले सडकका किनारा र फुटपाथलाई बैजनी गलैँचामा परिणत गरिदिएका छन् । ती सुन्दर पत्रदलहरूमाथि टेक्दा बटुवाका पाइलाहरू पनि कता कता अडिन्छन्, मानौँ यो कुनै साधारण बाटो होइन, एउटा स्वप्निल संसारको प्रवेशद्वार हो । तस्बिरहरूमा कैद भएको काठमाडौं झनै जीवन्त देखिन्छ ।
१२. ‘इन्धनको मूल्यले बिथोलियो भान्सा’
पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिको बाछिटा कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रस्ट देखिन्छ । ढुवानी भाडा बढ्दा उपभोक्ताको थाली महँगो भएको छ । आजको बजारमा तरकारीको मूल्यमा विविधता देखिएको छ । गोलभेडा ठूलो (भारतीय) को मूल्य ७५ रुपैयाँ (औसत) रहँदा लोकल गोलभेडा ३० रुपैयाँमै उपलब्ध छ । यसले भारतीय आयातित गोलभेडा भन्दा स्थानीय उत्पादन २.५ गुणा सस्तो रहेको देखाउँछ । च्याउ र कुरीलो जस्ता विलासी तरकारीहरूको मूल्य भने आकासिएको छ । सिताके च्याउको मूल्य प्रतिकेजी ९ सय रुपैयाँ पुगेको छ भने डल्ले च्याउ ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । न्युन आय भएकाहरूका लागि स्थानीय घिउ सिमी (२२.५०), लौका (२२.५०) र घिरौला (३०) केही राहत दिने वस्तु बनेका छन् । फलफूलको मूल्य आज झनै आक्रामक देखिएको छ ।
१३. अफगानिस्तानको गलैंचा निर्यात १ वर्षमा १८ मिलियन डलर पुग्यो
अफगानिस्तानले गत वर्ष ३७ देशहरूमा १८ मिलियन अमेरिकी डलर बराबरको गलैंचा र कार्पेट निर्यात गरेको छ । कार्पेट युनियनका प्रमुख अब्दुल्ला रहमान कुलकाअनुसार गत वर्ष करिब ६ हजार वर्ग मिटर गलैंचा र ४ हजार वर्ग मिटर कार्पेट निर्यात गरिएको थियो । निर्यातको ठूलो हिस्सा संयुक्त राज्य अमेरिका, टर्किए र युरोपेली बजारहरूमा पठाइएको थियो । अहिले देश भित्रै कार्पेट प्रशोधन भइरहेको छ । जसले करिव ५० हजार मानिसहरूलाई रोजगारीको अवसर सिर्जना गर्न सक्छ । गलैंचा उद्योग अफगानिस्तानको कृषि पछि दोस्रो ठूलो क्षेत्र हो, जसले १.२ मिलियन मानिसहरूलाई, विशेष गरी महिलाहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दछ ।
१४. कानूनको शासन, न कि शक्तिको प्रदर्शनः संयुक्त राष्ट्र प्रमुख
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले नेदरल्यान्ड्सको द हेगमा अन्तर्राष्ट्रिय समुदायलाई शक्तिको प्रदर्शन वा कच्चा शक्ति भन्दा कानूनको शासनद्वारा शासित भविष्य रोज्न आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय न्यायालयको ८० औं वार्षिकोत्सवको अवसरमा बोल्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हाम्रा आँखा अगाडि भइरहेको कुरामा जोड दिनुभयो । गुटेरेसले चेतावनी दिनुभयो कि अन्तर्राष्ट्रिय कानूनलाई कमजोर पार्नाले विश्वव्यापी स्थिरताको जगलाई नै खतरामा पार्न सक्छ ।
१५. टर्कीका राष्ट्रपतिद्वारा खाडी मुलुकहरूको खुला समुन्द्रमा निर्वाध पहुँचको अधिकारमा जोड
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले खाडी मुलुकहरूको खुला समुद्रमा पहुँचको अधिकारलाई प्रतिवन्धित गर्न नहुने बताउनुभउको छ । उहाँले स्थापित नियमहरूमा आधारित नेभिगेसनको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक रहेको र होर्मुज स्ट्रेटलाई व्यापारिक जहाजहरूका लागि खुला राख्नुपर्ने कुरामा जोड दिनुभयो । एन्टाल्यामा एन्टाल्या डिप्लोमेसी फोरमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एर्दोगानले स्थायी शान्ति स्थापनाका लागि युद्धविरामले सिर्जना गरेको अवसरको सदुपयोग गर्न आह्वान गर्नुभयो । टर्कीको परराष्ट्र मन्त्रालयले आयोजना गरेको एन्टाल्या डिप्लोमेसी फोरमको ५ औं संस्करण अप्रिल १७ देखि १९ सम्म भोलिको म्यापिङ, अनिश्चितताहरूको व्यवस्थापन“ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको छ ।
१६. तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छः इरानका उप–परराष्ट्रमन्त्री
इरानका उप–परराष्ट्रमन्त्री सईद खतिबजादेले तेहरानले शत्रुताको स्थायी अन्त्यका लागि आह्वान गरिरहेको बताउनुभएको छ । अन्टाल्या डिप्लोमेसी फोरमको अवसरमा उहाँले आफूहरुको क्षेत्रमा युद्धविराम आवश्यक रहेको बताउनु भयो । तेहरान क्षेत्रमा द्वन्द्वको चक्र अन्त्य गर्न प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । आफूहरु यो शत्रुता अन्त्य गर्न धेरै प्रतिवद्ध रहेको र यस क्षेत्रमा यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न चाहेको बताउनु भयो ।
१७. भारतको तामिलनाडुमा मिनी बस दुर्घटनामा १० जनाको मृत्यु
दक्षिण भारतीय राज्य तामिलनाडुमा एउटा मिनी बस गहिरो खोंचमा खस्दा १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । सरकारी प्रशारक अल इन्डिया रेडियोकाअनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । छिमेकी राज्य केरलाबाट आएका ती यात्रुहरू भ्रमणका लागि तामिलनाडु पुगेका थिए । दुर्घटना हुँदा उक्त भ्यानमा केरलाका १६ जना सवार रहेको रेडियोले जनाएको छ । दुर्घटनाको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन । स्थानीय प्रहरीले यसबारे उजुरी दर्ता गर्दै घटनाको विस्तृत अनुसन्धान शुरु गरेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
१८. रुसको सुदूरपूर्वमा बस दुर्घटना हुँदा दुई चिनियाँ नागरिकको मृत्यु
रुसको जाबैकाल्स्की क्षेत्रमा एउटा यात्रुवाहक बस पल्टिँदा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । अन्य १० जना घाइते भएको इरकुत्स्कस्थित चिनियाँ महावाणिज्य दुतावासले शनिवार जनाएको छ । जाबैकाल्स्की क्षेत्रीय सरकारले शनिबार दिएको जानकारीअनुसार बस चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा स्थानीय समयअनुसार दिउँसो करिव २ः४० बजे उक्त दुर्घटना भएको थियो । नियन्त्रण गुमाएपछि बस सडकबाट बाहिर उछिट्टिएर पल्टिएको थियो । महावाणिज्य दुतावासकाअनुसार ४० भन्दा बढी चिनियाँ नागरिक बोकेको उक्त बस चीनको मन्झौली सहरबाट जाबैकाल्स्कीको क्षेत्रीय राजधानी चिता तर्फ जाँदै थियो ।
१९. लेबनानी राष्ट्रपतिद्वारा युद्धविराम पछि स्थायी सम्झौताका लागि वार्ताको घोषणा
लेबनानी राष्ट्रपति जोसेफ आउनले लेबनान अब आफ्ना जनताको अधिकार, भू–भागको एकता र राज्यको सार्वभौमसत्ताको रक्षाका लागि स्थायी सम्झौताको वार्तामा केन्द्रित नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । देशलाई सम्बोधन गर्दै आउनले लेबनान युद्धविराम कार्यान्वयनको प्रयासबाट दीर्घकालीन स्थिरता सुनिश्चित गर्ने वृहत्तर चरणतर्फ अघि बढिरहेको बताउनु भयो । अघिल्लो चरण जस्तै यी प्रयासहरूले लेबनानलाई बचाउन मद्दत गर्ने उहाँको भनाइ छ । यो नयाँ चरणले लेबनानको इतिहासमा एक महत्वपूर्ण मोडको प्रतिनिधित्व गर्दछ । राष्ट्रपति आउनले जोड दिँदै राष्ट्र अब विदेशी प्रभावबाट मुक्त भई आफ्नै भाग्यको निर्माता बन्न तयार रहेको बताउनु भयो ।
२०. प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण अन्तिम चरणमा, महाभियोगको विषय टुंग्याउन बाँकी
प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग लगायतका केही काम बाँकी रहेपनि अन्य सबै विषय टुंगोमा पुगेको जनाएको छ । समितिका सभापति गणेश पराजुलीले मस्दौदा निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँकाअनुसार समितिलाई दिएको १४ दिने समयसीमा मंगलवार सकिँदैछ । उहाँले अधिकांश विषयमा सहमति जुटिसकेकोले सोमबारको बैठकमा सबै विषय टुंगोमा पु¥याएर मस्यौदालाई अन्तिम रुप दिने बताउनु भयो । उहाँकाअनुसार महाभियोग लगायत केही संवेदनशील विषय अझै बाँकी छन् । ती विषयमा राजनीतिक दलहरूसँग थप परामर्श गरी दलगत धारणा समेट्ने प्रयास भइरहेको उहाँले बताउनु भयो । सोमबार बिहान ११ बजे बस्ने बैठकले बाँकी विषयहरू अन्तिम रूप दिने उहाँले जानकारी दिनुभयो । महाभियोग सम्बन्धी व्यवस्थामा केही फरक धारणा र विचारहरू देखिएकाले बहुआयामिक ढंगले छलफल गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।
२१. प्रदेश सभापति र मुख्यमन्त्रीहरुसँग काँग्रेसको छलफल
नेपाली काँग्रेसले सातै प्रदेशका शिर्ष नेतृत्वसँग छलफल शुरु गरेको छ । नेपाली काँग्रेसका सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा प्रदेश सभापतिहरू, पार्टीका मुख्यमन्त्रीहरू तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी छन् । आईतवार १ बजेका लागि आह्वान गरिएको बैठक ढिलो गरी शुरु भएको हो । बैठकले आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र सरकार–पार्टी समन्वयमा विषयमा छलफल हुने बताइएको छ । बैठकमा काँग्रेसका केन्द्रिय पदाधिकारी, वागमती प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति इन्द्रबहादुर बाँनिया, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत सहभागी हुनुहुन्छ ।
२२. प्रदेशको प्रभावकारिता र सुशासन सुदृढीकरणमा केन्द्रित हुन मुख्यमन्त्री एवं प्रदेश सभापतिहरुलाई काँग्रेसको निर्देशन
नेपाली काँग्रेसले प्रदेश सरकारको प्रभावकारिता र सुशासन सुदृढीकरणका विषयमा प्रदेशका मुख्यमन्त्री एवं सभापतिहरुसँग गरेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा भएको बैठकमा प्रदेश सरकारलाई जनसेवामुखी कसरी बनाउने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभएको हो । उहाँकाअनुसार छलफलमा प्रदेश सरकारको प्रभावकारिता, जनअपेक्षा सम्बोधन र सुशासनको सुदृढिकरणको विषयमा छलफल भएको हो । उहाँले अगामी आर्थिक वर्षको बजेट निर्माण, प्रदेश तहबाट जनसमस्याको समाधान र सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा केन्द्रित हुन मुख्यमन्त्री एवं प्रदेश सभापतिहरुलाई निर्देशन दिइएको छ ।
२३. सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत
पूर्णबहादुर खड्का समूहले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्चको फैसला विरोधाभासपूर्ण, अदालतका आफ्नै नजिर तथा निर्वाचन आयोगले कायम गरेका अभ्यासविपरित रहेको टिप्पणी गरेको छ । आईतवार काठमाडौंमा भएको छलफलमा सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै नेताहरुले पुनरावलोकनमा जाने सुझाव दिएको नेता मिन विश्वकर्माले बताउनु भयो । गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने सर्वोच्चको फैसला संविधान, प्रचलित कानून र नेपाली काँग्रेसको विधानसँग समेत बाझिने प्रकृतिको रहेको समेत उहाँको टिप्पणी छ । अदालतले कानूनी रूपमा विवाद समाधान गरेपनि पार्टीलाई सुदृढ बनाउने विषय अझै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले पार्टी एकताको पहल तत्काल आवश्यक रहेको औँल्याउँदै विशेष महाधिवेशनबाट आएको कार्यसमिति र सभापति गगनकुमार थापाले नेतृत्वदायी भुमिका खेल्नुपर्ने जिकिर गर्नुभयो ।
२४. प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी
प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक शुरु भएको छ । आईतवार सिंहदरबारमा सो बैठक बोलाइएको हो । बैठकमा प्रतिनिधि सभा सञ्चालन सम्बन्धि कार्यविधिमाथि छलफल भइरहेको छ । प्रतिनिधि सभालाई परिवर्तित सन्दर्भमा प्रभावकारी ढंगले सञ्चालन हुनेगरी त्यसको नियमावलीको व्यवस्था गर्नका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा सो समिति गठन गरिएको हो । समितिका सदस्यहरुले विद्यमान नियमावलीमा धेरै दफाहरुमा संशोधनको आवश्यकता औँल्याएको बताइएको छ ।
२५. श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
प्राज्ञहरुले हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको गतिविधि राम्रो भएको टिप्पणी गरेका छन् । आईतवार ललितपुरमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै प्राडा राजाराम सुवेदी, प्रा.डा. विश्वनाथ भण्डारीलगायतका विषय विज्ञहरुले श्रमदान गरेर देश बनाउने सो पार्टीको नीति सही भएको उल्लेख गर्दै त्यसलाई अझै परिमार्जन गर्दै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्ट हुनबाट बचेर सो पार्टीले आफ्नो गतिविधिलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नुभयो । प्राडा सुवेदीले भन्नुभयो,‘यो श्रम संस्कृति मान्छेहरुलाई थाहा नभएको हो र ? थाहा भएको नै हो । तर उहाँले व्यवहारिक रुपमा पूर्वबाट नै गर्दै आउनु भएको छ । अब पश्चिमतिर जाँदै हुनुहुन्छ । भ्रष्ट हुनबाट बचेर आफैँले श्रमदान गरेर देश मिलेर बनाउने हो । यो कुरा हर्कजीले बुझनु भएको छ । श्रम गरेर देश बनाउने उहाँको विचार अझै परिपक्व होस् । उहाँले गर्नु भएको शुरुवाती राम्रो छ ।’
२६. सरकारलाई हर्कराज राईको आग्रहः संघीयतासम्बन्धि सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य होस्
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धि सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आईतवार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष राईले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको हो । उहाँले मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानूनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई आग्रह गर्नुभयो । विकास निर्माणको काम अघि बढाउनका लागि कानूनमा ठूलो परिवर्तन ल्याउन आवश्यक रहेको अध्यक्ष राईको बुझाई थियो । उहाँले भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेको काममा वन मन्त्रालयले रोक्न विरोधाभाष अवस्था विद्यमान रहेकाले त्यसमा सुधार गर्ने काममा सरकारले ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।
२७. हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी विज्ञहरुसँगको छलफलमा
प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरुसँगको सामूहिक छलफल शुरु गरेको छ । संघीय संसदमा पहिलो पटक सहभागी भएको सो पार्टीले आईतवार ललितपुरमा छलफल शुरु गरेको हो । छलफलमा डा. सुन्दरमणि दीक्षित, डा. राजाराम सुवेदी,३. प्रो. डा. राजकुमार पोखरेल,डा. टिकाराम गौतम, डा. केशवमान शाक्य, डा. लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित पार्टीका नेताहरु सहभागी हुनुभएको छ । श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढने संकल्प लिइएको भनिएको सो पार्टीले पार्टीले आगामी दिनमा खेल्ने भुमिकालाई प्रभावकारी बनाउन विज्ञहरुसँगको छलफल शुरु गरेको बताइएको छ ।
२९. मध्यपूर्वको युद्धले प्रभावित आयोजनाहरुको म्याद थप र लागत समायोजन हुनुपर्छः पाण्डे
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्यपूर्वको युद्धले नेपालका धेरै आयोजनाहरु प्रभावित भएको भन्दै त्यस्ता आयोजनाहरुको म्याद थप हुनुपर्ने बताउनुभएको छ । युद्धका कारण कच्चापदार्थ र इन्धन सहज रुपमा नपाउँदा आयोजनाहरु प्रभावित भएको भन्दै उहाँले त्यस्ता आयोजनाहरुका बारेमा सरकारले म्याद थप गर्नुको विकल्प नरहेको बताउनुभएको हो । उहाँकाअनुसार पछिल्ला दिनहरुमा निर्माणाधिन धेरै आयोजनाहरुको लागत बढेर गएकोे छ । इन्धन र कच्चा पदार्थको अभावमा आयोजनाहरु प्रभावित भएको भन्दै उहाँले हाल भइरहेको अप्रत्याशित मूल्यवृद्धि र त्यसबाट प्रभावित आयोजनाका बारेमा सरकार गम्भीर हुनुपर्ने समेत बताउनु भयो । पाण्डेले कुनैपनि निर्माण ठेक्का लगाउँदा आवश्यक इन्धन, डन्डी, सिमेन्टलगायत सामग्रीको परिमाण र त्यतिबेलाको बजारदरका आधारमा लागत अनुमान तयार गरिने बताउँदै सामान्यतया १० देखि १५ प्रतिशतसम्मको मूल्यवृद्धि निर्माण व्यवसायीले आफैँले थेग्ने मान्यता छ ।
३०. शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने
अब शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । सोमबवारबाट लागू हुन लागेको नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ । नयाँ नीतिअनुसार बजार खुल्नुअघिको प्रि–ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ । यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
३१. रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले वैशाख १५ गतेदेखि पार्टीको जिल्ला अधिवेशन सुचारु गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले यसबारे जानकारी दिनुभएको हो । बैठकले यसका लागि जिल्ला अधिवेशन कार्यविधि समेत स्वीकृत गरिसकेको उहाँले बताउनु भयो । महामन्त्री बुर्लाकोटीकाअनुसार रास्वपाले ७७ मध्ये ७६ जिल्लामा जिल्ला समिति गठन गरिसकेको छ भने डोल्पामा गठनको प्रक्रिया जारी छ । हालसम्म ४ सय ६० पालिकामा समिति बनेको रेकर्ड प्राप्त भएको र करिव २५ सय वडाहरूमा समिति गठन भइसकेको पार्टीले जनाएको छ । बैठकले केन्द्रिय नीति विचार विभागमा संस्थापक केन्द्रिय सदस्य महेश्वर घिमिरे र सांसद सुशान्त वैद्य मनोनित गरेको छ । केन्द्रिय प्रशिक्षण विभागमा मधु अर्याल, सृष्टि भट्टराई, नवीन श्रेष्ठ, जयदुर्गा बुढाथोकी, नरेश तिमल्सिना र सुजन कुमार श्रेष्ठ गरी ६ जना सदस्य मनोनित गरेको बुर्लाकोटीले बताउनु भयो । केन्द्रिय सङ्गठन विभागमा कमल खनाल (रुपन्देही), तोरण विक (सुर्खेत) र उदय सापकोटा (रौतहट) मनोनित गरेको छ ।
३२. नेपाल–यूएई श्रृंखलाः युवा प्रतिभा र नयाँ नेतृत्वमा केन्द्रित छौँ– मुख्य प्रशिक्षक स्टुअर्ट ल
नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले यूएईविरुद्धको आसन्न श्रृंखलाका लागि टोली उत्साहित रहेको र नयाँ खेलाडीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने यो उत्कृष्ट अवसर भएको बताएका छन् । घरेलु मैदानमा फ्लडलाइटमुनि (रातीको समयमा) हुने पहिलो श्रृंखलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक लले टोलीको परिवर्तन, रणनीति र भावी योजनाबारे जानकारी दिएका हुन् । विश्वकप टोलीको तुलनामा पाँचवटा परिवर्तनसहित आएको ‘नयाँ लुक्स’ को टोलीबारे प्रशिक्षकले स्पष्ट पारे । यो छोटो समयको समाधान मात्र नभई क्षमतावान युवाहरूलाई अवसर दिने योजना रहेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij