Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

असनमा ‘भेइकल फ्रि’ शनिवारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’

असनमा ‘भेइकल फ्रि’ शनिवारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’


  • 155
    Shares

    असनमा ‘भेइकल फ्रि’ शनिवारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’

    काठमाडौं । काठमाडौंको ऐतिहासिक असन बजार अहिले एउटा नयाँ प्रयोगबाट गुज्रिरहेको छ । महानगरपालिकाले हरेक शनिवार असन क्षेत्रलाई ‘सवारी मुक्त’ बनाउने निर्णय गरेपछि यहाँको डबली र गल्लीहरूमा नयाँ बहस शुरु भएको छ ।

    के यो सम्पदा जोगाउने कडी हो कि व्यापार सुकाउने एम्बुस रु नुनदेखि सुनसम्म पाइने, इतिहासदेखि वर्तमानसम्म जोडिएको र बालबालिकादेखि वृद्धवृद्धासम्मको स्मृतिमा बसेको ठाउँ हो- असन । काठमाडौं महानगरपालिकाले यहाँको सांस्कृतिक ओजलाई फर्काउन हरेक शनिवार सवारी आवातजावतमा प्रतिवन्ध लगाएको छ । वैशाख ५ गते शनिवारबाट कार्यान्वयनमा समेत आइसकेको छ । तर यो निर्णयले स्थानीय व्यवसायी र जनप्रतिनिधिबीचको बुझाइमा भने ठूलै खाडल देखिएको छ ।

    काभ्रेपलाञ्चोकबाट आएर असनमा भाडा पसल गरिरहेका अशोक आचार्यका लागि ‘भेइकल फ्रि’ शनिवार कुनै उत्सव होइन, बरु एउटा आर्थिक बोझ बनेको छ । 

    उनले भने, ‘सांस्कृतिक हिसावले त राम्रै होला, तर हामी व्यापार गर्नेलाई घरबेटीले छुट दिँदैनन् । दिनको १५-२० हजार खर्च हुने ठाउँमा महिनाको चार शनिवार बन्द हुँदा ८० हजार रुपैयाँ त हामी सिधै गुमाउँछौँ ।’ 

    अशोकको विचारमा हप्तैपिच्छे हुने यो कार्यक्रमले आफ्नो औचित्य गुमाउँदै गएको छ । 

    उनले एउटा उदाहरण दिनुहन्छ, ‘चिनी धेरै खायो भने तीतो हुन्छ, यो त्यस्तै भएको छ । महिनाको एक पटक गरेको भए बरु ‘मज्जा’ आउँथ्यो होला । फेरि यहाँ बेचिने खानेकुरा पनि सधैँ पाइने सामान्य नै छन्, केही एक्स्ट्रा चिज छैन । हाम्रो लागि त यो घाटाको सौदा मात्रै भयो ।’

    तर अर्का व्यवसायी सीताराम तिमल्सिनाको धारणा भने आचार्यको भन्दा ठिक विपरित छ । उनले महानगरको यो कदमलाई ‘स्वागतयोग्य’ मान्नुहुन्छ । 

    ‘प्रभाव त अलिअलि परिहाल्छ, तर यो राम्रो कुरा हो । हाम्रो कला, संस्कृति र खानपिनको विज्ञापन जस्तो भयो ।’ तिमल्सिनाले भने, ‘महानगरपालिकाले राम्रै गरिरहेको छ ।’

    उनकाका अनुसार शनिवार गाडी नहुँदैमा व्यापारमा ठूलै धक्का लाग्दैन । 

    ‘अघिपछि पनि हामी आएर गफ हानेरै बस्ने हो, चिया खाएर समय बित्छ । हप्तामा एक दिन यस्तो हुँदैमा बिजनेस नै डुब्छ भन्ने मलाई लाग्दैन ।’ उनले भने । 

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल भने यो अभियानलाई एउटा ठूलो ‘भिजन’ का रूपमा हेर्नुहुन्छ । उहाँले असनलाई एउटा ‘लिभिङ म्युजियम’ ९जीवन्त सङ्ग्रहालय० का रूपमा व्याख्या गरे । 

    ‘शहर भनेको गाडीको लागि मात्र होइन, आम नागरिक र पैदलमार्गीका लागि पनि हो ।’ डंगोल भन्नुहुन्छ, ‘हामीले हाम्रो ठाउँमा आनन्दले हिँड्न पाउनुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ । बाजे–बज्यैको हात समातेर नानीहरू डबलीमा निर्धक्क खेल्न पाउन्, यो नै यसको मुख्य उद्देश्य हो ।’

    उनले असनका मन्दिर र बहा-बहीहरूको महत्व गाडीको ‘ट्याँ-ट्याँ र टुँ-टुँ’ हर्नका कारण मासिएको स्वीकार गर्दै शनिवारको दिनलाई ‘असन महशुकस गर्ने मौका’ का रूपमा परिभाषित गरे । 

    उनले भने, ‘हामीले २५ र २७ वडाबाट शुरु गरेका छौँ, बिस्तारै २४, २३ हुँदै कोर क्षेत्रका अरु वडामा पनि पुग्छौँ । यसले यहाँका बासिन्दालाई ‘सजाय’ होइन, ‘पुरस्कार’ दिनुपर्छ भन्नेमा हामी सचेत छौँ ।’

    महानगरले असनको म्यापिङ गर्ने र यहाँ आउनेहरूका लागि एउटा जानकारीमूलक ‘इन्भेन्ट्री’ बनाउने योजना पनि अघि सारेको छ । तर अशोक आचार्य जस्ता व्यवसायीहरूको ‘आर्थिक पीडा’ र सुनिता डंगोलले देखेको ‘सांस्कृतिक पुनर्जागरण’ को सपनाबीच सन्तुलन मिलाउनु नै महानगरका लागि मुख्य चुनौती देखिन्छ ।

    कसैका लागि यो चिया खाँदै गफिने र सम्पदा हेर्ने फुर्सदिलो शनिवकार हो त कसैका लागि ८० हजार रुपैयाँ गुम्ने व्यापारिक चिन्ता । असनको यो ‘भेइकल फ्रि’ प्रयोगले अन्ततः कस्तो रूप लिनेछ, त्यो भने आगामी समयले नै बताउनेछ । तर एउटा कुरा पक्का छ-असन अब केवल बजार मात्र रहेन, यो बहसको एउटा नयाँ डबली पनि बनेको छ ।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १२:२८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij