Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

अमृत झा रिहा भएको दुई दिन बितिसक्दा पनि आएन परिवारको सम्पर्कमा

अमृत झा रिहा भएको दुई दिन बितिसक्दा पनि आएन परिवारको सम्पर्कमा


  • 687
    Shares

    अमृत झा रिहा भएको दुई दिन बितिसक्दा पनि आएन परिवारको सम्पर्कमा
    काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले वैशाख २ गते राती आफ्नो एक्स (ट्वीटर)मा लेखे- ‘अमृत झा जो इरानमा पक्राउ परेका थिए, उनी रिहा भएका छन् । इरानस्थित हाम्रो मानार्थ महावाणिज्य दूतावास तथा कतारस्थित दूतावास दुवै उहाँसँग सम्पर्कमा छन् । हाम्रो टोली उहाँलाई इरानबाट बाहिर ल्याउनका लागि काम गरिरहेको छ ।’
     
    परराष्ट्रमन्त्री खनाल एक्समा लेखेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो– ‘इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरलमार्फत अनौपचारिक रूपमा मन्त्रालयमा प्राप्त भएको छ ।’ 
     
    विज्ञप्तिमा सो आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनका लागि तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको जनाइएको छ ।
     
    तर आज दुई दिन भइसक्दा पनि झा अझै परिवारको सम्पर्कमा आएका छैनन् । यो खबर थाहा पाउने बित्तिकै अमृतको परिवार खुसी भयो तर झा सम्पर्कमा नआएपछि उनीहरू पुनः चिन्तामा परेका छन् । अमृत झाकी दिदी पूजा झाले भनिन्– ‘अमृत भाइ रिहा भएको समाचार सुन्दा निकै खुसी लागेको थियो तर आजसम्म कुनै सम्पर्क छैन, कहिले आउँछ केही पनि थाहा छैन, सरकारको तर्फबाट पनि कुनै जानकारी आएको छैन ।’
     
    रिहाको समाचार आउनुभन्दा पहिले अमृत र पूजाबिच कुराकानी भएको थियो । कुराकानीका क्रममा अमृतले ‘ठिक छु, चिन्ता लिनुपर्दैन, चाँडै नेपाल फर्किन्छु’ भनेका थिए । उनले भनिन्– ‘अमृत भाइसँग कुरा भएको थियो र त्यसपछि समाचार आएपछि हामी निकै खुसी भएका थियौँ, तर अमृतसँग अझै कुनै सम्पर्क छैन, कहिले आउने भन्ने कुरा सरकारले पनि भनिरहेको छैन ।’
     
    अमृतको रिहाइका लागि परिवारको तर्फबाट पहल गरिरहेका उदयपुरका खेमनारायण यादव ९राहुल०ले उनी रिहा भएको भए सरकारले परिवारसँग किन सम्पर्क नगराएको भन्दै गुनासो गरे । उनले भने, ‘वाहवाही लिनका लागि सरकारले अमृत रिहा भएको कुरा बाहिर ल्याएजस्तो छ तर रिहा भएको कुरा परिवारलाई जानकारी हुनुपर्छ कि पर्दैन, परिवारलाई सम्पर्क गराउनुपर्छ कि पर्दैन रु मिडियावाजी गरेर परिवारलाई झन् तनाव दिएको छ ।’
     
    परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीले भने झा रिहा भएको अनौपचारिक जानकारी प्राप्त भएको जानकारी दिए । उनले भने, ‘अमृत झा रिहा भएको अनौपचारिक जानकारी प्राप्त भएको छ, उहाँलाई नेपाल फर्काउन समन्वय भइरहेको छ ।’ परराष्ट्र मन्त्रालय सम्बन्धित देशका नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहेको उनले बताए । 
     
    साथै,इरानको तेहरानमा रहेका १० जना नेपालीलाई कसरी सकुशल नेपाल फिर्ता ल्याउने भन्ने बारेमा पनि परराष्ट्र मन्त्रालयले पहल गरिरहेको प्रवक्ता क्षेत्रीले बताए । 
    ‘विभिन्न कामका सिलसिलामा त्यहाँ १० जना नेपाली कार्यरत रहेका छन् । सबैजना नेपाल सरकारको सम्पर्कमा आइसकेका छन् । उनीहरूलाई सकुशल फिर्ता ल्याउने पहल भइरहेको छ’ उनले बताए ।
     
    इरान–इजरायल–अमेरिकाबिच द्वन्द्व सृजना हुनुभन्दा पहिले अमृत पक्राउ परेका थिए । उनी इरानको जेलमा रहेको र  जिल्ला अदालतमा मुद्दा चलेको थियो । 
     
    उदयपुर जिल्ला, त्रियुगा नगरपालिका–११ का ३३ वर्षीय झा इरानको ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत थिए । दुबईबाट इरानतर्फ इन्धन ढुवानी गर्न जाँदा उताबाट फर्किने क्रममा उनलाई इरानी सेनाले बठदर अब्बाबसबाट पक्राउ परेको दिदी पूजा झाले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएकी थिइन् । 
     
    अमृतका परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा दिएको उजुरी अनुसार बठदर अब्बास करागारमा अमृतलाई राखिएको दावी गरिएको छ ।  झाका आफन्तले तत्कालीन परराष्ट्रमन्त्री बलानन्द शर्मा र सचिव अमृतबहादुर राईलाई भेटेका थिए । भेटका क्रममा उनीहरुले रिहाका लागि पहल गरी दिन समेत आग्रह गरेका थिए । 
     
    अमृतको स्थायी ठेगाना महोत्तरी हो । जागिरको क्रममा अमृतका बुवा उदयपुर गएका थिए । स्थायी ठेगाना महोत्तरी भए पनि सबै परिवार उदयपुरमै बस्छन् । 

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १६:२१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij