२०८२ फाल्गुण २९ गते शुक्रवार
१. पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ हुनुहुन्थ्यो । गएराति अप्ठ्यारो महशुस भएपछि उहाँलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आउनुभएको थियो । गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा उहाँको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उहाँ झापा फर्कनुभएको थिएन ।
२. कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण
खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ । ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन् । ग्यास उद्योग (डिपो) बाहिर सडकको किनारै–किनार खाली सिलिण्डरको लामो लाइन देख्न सकिन्छ । विशेषगरी ‘नेपाल ग्यास’का राता सिलिण्डरहरू सडकपेटीमा लामवद्ध राखिएका छन् । आफ्नो पालो कुरेर घन्टौं उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा प्रस्टै झल्किन्छ । लाइनमा युवा, वृद्धदेखि महिलाहरूसम्मको उल्लेख्य उपस्थिति छ । कोही मोटरसाइकलको पछाडि सिलिण्डर बाँधेर आइरहेका छन् भने कोही काँधमै गह्रौं सिलिण्डर बोकेर डिपो धाउन बाध्य छन् । भीडभाडमा आफ्नो सिलिण्डर नहराओस् वा नसाटियोस् भनेर कतिपय उपभोक्ताले सिलिण्डरको रेगुलेटर लाग्ने ठाउँमा सेतो कपडा वा बोराको टुक्रा बाँधेर चिनो लगाएको रोचक तर विवश दृश्य पनि तस्बिरमा कैद भएको छ ।
३. एशियन गेम्स प्रचारका लागि शनिवार फन रन हुने
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एशियन गेम्सको प्रचारप्रसार उद्देश्यले शनिवार एसियाड फन रन आयोजना गर्ने भएको छ । ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) को कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको उक्त फन रन आगामी २० औं एशियाली खेलकुदको प्रचारका लागि गर्न लागिएको हो । खेलकुदप्रति जनचेतना अभिवृद्धि र एकताको सन्देश दिने उद्देश्यले यसपल्ट पनि फन रन ललितपुरमा आयोजना हुँदैछ । आगामी २० औं एशियन गेम्स सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको नागोया र आइचीमा आयोजना हुँदैछ । शनिवार बिहान ७ः३० बजे शुरु हुने फन रन तीन किलोमिटर दूरीको हुनेछ । दौड पाटन दरबार स्क्वायर बाट शुरु भई विभिन्न स्थान हुँदै पुनः सोही स्थानमा पुगेर समाप्त हुने जनाइएको छ । कार्यक्रममा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघका पदाधिकारी, कुटनीतिक क्षेत्रका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारण गरी एक हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
४. एमाले अध्यक्ष ओलीलाई पितृशोक (तस्बिरसहित)
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मोहनप्रसाद ओली केही समययता अस्वस्थ हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई ओलीको गुण्डु (भक्तपुर) स्थित निवासमा लगिने भएको छ भने अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिनेछ ।
५. अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्रलाई प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने बताउनुभएको छ । उहाँले विद्यमान उच्च भन्सार दरलाई समेत न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष अग्रवालले दक्षिण एशियाका अन्य देशहरुमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा राजश्वको अनुपात १३ देखि १४ प्रतिशत मात्रै रहेको तर नेपालमा १९.९ प्रतिशत पुगेको भन्दै यसले लगानी र व्यापारको प्रतिष्पर्धी वातावरण नबनेको बताउनु भयो । विगतमा लामो समय राजनीतिक अस्थिरताका कारण अर्थनीति पनि अस्थिर भएको भन्दै उहाँले अब बन्ने बलियो सरकारले अर्थनीतिमा स्थायित्व ल्याउनुपर्ने बताउनु भयो । नियामक निकायको संकुचित मौद्रिक नीतिका कारण विगत ४ वर्षदेखि अर्थतन्त्र अत्यन्तै शिथिल बनेको उहाँको भनाइ छ ।
६. अमेरिकाले रणनीतिक भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने
अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ । अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूले ऊर्जाको मूल्य घटाउन आ–आफ्नो भण्डारबाट कुल ४० करोड ब्यारेल तेल र प्रशोधित उत्पादनहरू सामूहिक रूपमा निकाल्ने राष्ट्रपति ट्रम्पको प्रस्तावमा सर्वसम्मतिले सहमति जनाएका बताउनुभएको हो । राइटले यसै प्रयासको हिस्सास्वरूप राष्ट्रपति ट्रम्पले आगामी हप्तादेखि ऊर्जा विभागलाई रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख (१७२ मिलियन) ब्यारेल तेल निकाल्न अनुमति दिनुभएको छ । योजनावद्ध निष्कासन दरका आधारमा यो आपूर्ति पूरा हुन करिव १२० दिन लाग्नेछ । अमेरिकाले आगामी एक वर्षभित्र यी रणनीतिक भण्डारहरूमा करिव २० करोड ब्यारेल तेल पुनः प्रतिस्थापन गर्ने व्यवस्था मिलाएको पनि राइटले जानकारी दिनुभयो ।
७. अमेरिकी–इजरायली आक्रमणमा मारिएका वरिष्ठ सैन्य कमाण्डरहरूको इरानमा अन्त्येष्टि
तेहरानको एङ्गेलाब स्क्वायरमा संयुक्त अमेरिकी–इजरायली आक्रमणमा मारिएका वरिष्ठ इरानी सैन्य कमाण्डर र नागरिकहरूको अन्त्येष्टि जुलुसका लागि हजारौं इरानीहरू भेला भएका छन् । मानिसहरूले इरानको राष्ट्रिय झण्डा फहराएका थिए र नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनी र गत महिनाको अन्त्यमा संयुक्त अमेरिकी–इजरायली आक्रमणमा मारिएका दिवंगत सर्वोच्च नेता अली खामेनीका तस्बिरहरू बोकेका थिए । उनीहरूले नयाँ नेताप्रति वफादारीको शपथ खाँदै र समर्थन पुनः पुष्टि गर्दै र इरान विरुद्ध अमेरिकी र इजरायली अपराधको निन्दा गर्दै नारा लगाएका थिए । यस कार्यक्रममा धेरै उच्च पदस्थ इरानी अधिकारीहरू पनि उपस्थित थिए ।
८. इजरायलद्वारा मध्य बेरुतको भवनमा नयाँ चरणको हवाई आक्रमण
इजरायली सेनाले बिहीवार दिउँसो बेरुतमा हिजबुल्लाहका लक्ष्यहरूलाई लक्षित गर्दै नयाँ श्रृङ्खलाको हवाई आक्रमण शुरु गरेको घोषणा गरेको छ । आक्रमणअघि बाचौरा र जकाक अल–ब्लाट क्षेत्रका निश्चित भवनहरू खाली गर्न बासिन्दाहरूलाई आग्रह गर्दै चेतावनी जारी गरिएको थियो । पछिल्लो क्षेत्रमा लक्षित भवनमा अल–कर्ड अल–हसनको शाखा रहेको छ । जसलाई इजरायलले हिजबुल्लाहले हतियार खरिद गर्न र आफ्ना लडाकुहरूलाई भुक्तानी गर्न वित्तीय शाखाको रूपमा प्रयोग गर्ने दाबी गरेको छ । चेतावनी र त्यसपछिका आक्रमणहरूले बासिन्दाहरू र विस्थापित परिवारहरूमा त्रास पैदा गरेको छ । जो पहिलेको इजरायली आक्रमणबाट भागेर मध्य बेरुतमा शरण लिएका थिए । यसैबीच, लेबनानको जनस्वास्थ्य मन्त्रालयले बिहीबार रिपोर्ट गरेअनुसार मार्च २ यता लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ८७ पुगेको छ भने १ हजार ७ सय ७४ जना घाइते भएका छन् । मन्त्रालयले मारिएका प्यारामेडिकहरूको संख्या १८ पुगेको र ४५ जना घाइते भएको बताएको छ ।
९.टर्कीका राष्ट्रपतिद्वारा संयुक्त राष्ट्रसंघका प्रमुखसँग भेट
मध्यपूर्वमा भइरहेको युद्धलाई फैलन नदिन टर्की तिब्र कुटनीतिक प्रयासमा संलग्न रहेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा बताउनुभएको छ । भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटपछि एर्दोगानले चुनौतीपूर्ण समयमा कूटनीति र संवादका लागि गुटेरेसको आह्वान अत्यन्त मूल्यवान रहेको बताउनु भयो । टर्कीले वर्तमान संकटको शान्तिपूर्ण समाधानका लागि दृढ संकल्प र धैर्यताका साथ काम जारी राख्ने बताउनु भयो । संयुक्त राष्ट्रसंघलाई थप समावेशी बनाउने पहलहरूलाई समर्थन गर्न जारी राख्ने बताउनु भयो । उहाँले सबै पक्षहरूलाई शत्रुता अन्त्य गर्न, अन्तर्राष्ट्रिय कानूनको पालना गर्न, सर्वसाधारणको सुरक्षा गर्न र तुरुन्तै वार्ताको टेबलमा फर्कन आह्वान गर्नुभयो ।
१०. टर्कीका विदेशमन्त्रीले भनेः इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउनु हुँदैन
इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउन नहुने टर्कीका विदेशमन्त्री हाकान फिदानले बताउनुभएको छ । साथै उहाँले इरानमा सत्ता परिवर्तनको प्रयास नगर्न चेतावनी समेत दिनुभएको छ । राजधानी अंकारामा भ्रमणमा रहेका जर्मन विदेशमन्त्री जोहान वाडेफुलसँगको संयुक्त पत्रकार सम्मेलनमा फिदानले यो युद्ध जतिसक्दो चाँडो रोकिनुपर्ने बताउनु भयो । इरानको क्षेत्रीय अखण्डताको सम्बन्धमा कुनै समस्या हुनुहुँदैन र सत्ता परिवर्तन जस्ता लक्ष्यहरू राखिनु नहुने उहाँको भनाइ छ । यस क्षेत्र जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्कनुपर्ने उहाँले बताउनु भयो । फिदानले इरानका लागि विखण्डनकारी परिदृश्यहरू खडा गर्ने प्रयास भइरहेको भन्दै चेतावनी दिनुभयो ।
११. बहराइनको मुहारक गभर्नोरेटमा इरानी क्षेप्यास्त्र प्रहारः इन्धन ट्याङ्कहरूमा भीषण आगलागी
बहराइनको आन्तरिक मन्त्रालयले मुहारक गभर्नोरेटस्थित एक औद्योगिक क्षेत्रमा रहेका इन्धन भण्डारण ट्याङ्कहरूलाई लक्षित गरी इरानले आक्रमण गरेको पुष्टि गरेको छ । उक्त आक्रमणपछि त्यस क्षेत्रका इन्धन ट्याङ्कहरूमा भीषण आगलागी भएको र आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको छ । बहराइनको गृह मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूले मुहारक गभर्नोरेटको इन्धन सुविधा केन्द्रलाई निशाना बनाएका थिए । घटना लगत्तै नागरिक सुरक्षा बलका टोलीहरू आगो निभाउन र स्थिति नियन्त्रणमा लिन परिचालन भएका थिए । मन्त्रालयले सावधानीका रूपमा अल–हिद्द। गलाली र सामाहीज क्षेत्रका बासिन्दाहरूलाई आगोबाट निस्कने धुवाँका कारण स्वास्थ्यमा असर पर्नसक्ने भन्दै घरभित्रै बस्न र झ्याल–ढोकाहरू बन्द गर्न आग्रह गरेको छ ।
१२. रुसी आणविक पनडुब्बी ‘कजान’ द्वारा ३०० किलोमिटर टाढाको लक्ष्यमा सफल प्रहार
रुसको नर्दर्न फ्लीटले बिहीवार दिएको जानकारीअनुसार आणविक शक्ति सञ्चालित पनडुब्बी ‘कजान’ले एक योजनावद्ध युद्ध प्रशिक्षण अभ्यासका क्रममा ‘ओनिक्स’ क्रुज मिसाइल प्रयोग गरी ३०० किलोमिटरको दूरीमा रहेको सतहको लक्ष्यमा सफल प्रहार गरेको छ । फ्लीटको प्रेस सेवाले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कजानले पानीमुनिको स्थितिबाट ३०० किलोमिटर टाढा रहेको दुश्मनको जहाजलाई संकेत गर्ने समुन्द्री लक्ष्यमा ओनिक्स क्रुज मिसाइल प्रहार गरेको उल्लेख गरेको छ ।वस्तुगत अनुगमनबाट मिसाइलको वारहेडले सफलतापूर्वक समुन्द्री लक्ष्यमा प्रहार गरेको पुष्टि भएको फ्लीटले थप जानकारी दिएको छ । उक्त मिसाइल प्रक्षेपण बेरेन्ट्स सागरबाट गरिएको थियो ।
१३. लाल सागरमा अमेरिकी नौसेनाको पानीजहाज ‘युएसएस जेराल्ड आर. फोर्ड’मा आगलागी, २ जना घाइते
अमेरिकी नौसेनाले दिएको जानकारीअनुसार लाल सागरमा तैनाथ विमानवाहक जहाज युएसएस जेराल्ड आर. फोर्डको मुख्य लुगा धुने ठाउँमा आगलागी हुँदा दुई जना नौसैनिक घाइते भएका छन् । मार्च १२ मा युएसएस जेराल्ड आर. फोर्डको मुख्य लुगा धुने ठाउँबाट आगलागी शुरु भएको थियो । अमेरिकी नौसेना केन्द्रिय कमाण्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी गराएको छ । उक्त पोस्टका अनुसार यो आगलागी कुनै युद्ध वा आक्रमणसँग सम्बन्धित थिएन र यसलाई पूर्ण रुपमा नियन्त्रणमा लिइसकिएको छ । कमाण्डले पानीजहाजको प्रोपल्सन प्लान्टमा (इन्जिन प्रणाली) कुनै क्षति नपुगेको र यो विमानवाहक पोत पूर्ण रूपमा सञ्चालनमा रहेको बताएको छ । घाइते दुई नौसैनिकहरूको अवस्था स्थिर रहेको र उनीहरूको ज्यानलाई कुनै खतरा नरहेको बताइएको छ । उनीहरूले हाल स्वास्थ्य उपचार गराइरहेका र यस विषयमा थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिने कमाण्डले जनाएको छ । फोर्ड क्यारियर स्ट्राइक ग्रुपले आफ्नो पछिल्लो मिसन जुन २४ मा अमेरिकाको भर्जिनिया राज्यबाट शुरु गरेको थियो ।
१४. सुडान–चाड सीमा नाकामा भएको ड्रोन आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
सुडान र चाडबीचको अद्रे सीमा नाकामा भएको ड्रोन आक्रमणमा १३ सर्वसाधारणको मृत्यु भएको छ । अल जुनैना आपतकालीन कक्षको समन्वय परिषद्, एक स्वैच्छिक नागरिक समूहले एक विज्ञप्ति जारी गर्दै ड्रोनले नाकामा चारवटा मिसाइल प्रहार गरेको बताएको छ । यस आक्रमणमा इन्धन व्यापारमा संलग्न ५ महिलासहित १३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आक्रमणले नाकामा रहेको इन्धन बजार ध्वस्त पारेको छ, धेरै नागरिक सवारी साधनहरूमा क्षति पु¥याएको छ र ठूलो परिमाणमा खाद्यान्न आपूर्ति जलाएको परिषद्ले जनाएको छ । परिषद्का अनुसार सबै पीडितहरू साना व्यापारीहरू थिए जसले चाडको अद्रे शहरबाट नाकासम्म परम्परागत जनावरले तान्ने गाडा प्रयोग गरेर इन्धन र सामानहरू ओसारपसार गर्ने गर्दथे । यो उनीहरूको दैनिक जीविकोपार्जनको माध्यम थियो ।
१५. नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा
नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । महासंघले शुक्रवार पत्रकार सम्मेलन गरी महाधिवेशनको तायरी पूरा भएको जानकारी दिएको हो । महासंघको महाधिवेशन चैत ५ र ६ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने महासंघका महासचिव एवं महाधिवेशन प्रचारप्रसार तथा पत्रचार उपसमितिका संयोजक दिवस राईले जानकारी दिनुभयो । उहाँकाअनुसार चैत ५ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन र चैत्र ६ गते स्वयम्भू स्टार ब्याङ्केट, स्वयम्भू काठमाडौंमा बन्द सत्र हुनेछ । महाधिवेशनमा देशभरका आदिवासीजन जातिहरुले आ–आफ्ना भेषभुषामा नाचगान, झाँकी र ¥याली शहर परिक्रममा गर्नेछन् । भृकुटीमण्डपदेखि साँस्कृतिक झाँकी सहितको ¥याली भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंको सभाहलमा प्रवेश गर्ने उहाँको भनाई छ ।
१६. मध्यपूर्व रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल
श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरुलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रवार आयोजना गरेको कार्यक्रममा उहाँले त्यस क्षेत्रमा धेरै नेपालीहरु समस्यामा रहेको बताउनुभएको हो । उहाँले सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएकोप्रति असन्तुष्टी जनाउँदै धेरै नेपालीहरु देश फर्किन चाहेको उल्लेख गर्नुभयो । उहाँले द्वन्द्व जारी रहेकोले नेपाल फर्किन चाहनेहरुलाई उद्धार गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । हालसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा असुरक्षित रहेको नाम दर्ता गराइसकेको उहाँको भनाई छ । अवैध रूपमा काम गरिरहेका धेरै नेपालीहरू सरकारी रेकर्डमा नभएकोले यो संख्या अझ बढ्न सक्ने उहाँले बताउनु भयो ।
१७. चालक थकित र अपर्याप्त सडक सुरक्षा पूर्वाधारका कारण धादिङ बस दुर्घटना भएको कार्यदलको निष्कर्ष
पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा भएको बस दुर्घटनाको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन पेश गरेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परी बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा कार्यदल गरेको थियो । प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक तिवारीले घटनास्थल निरीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, यात्रुहरुसँग सोधपुछ तथा सडक पूर्वाधारको अवस्थाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताउनु भयो । उहाँले सवारी साधनमा कुनै यान्त्रिक खराबी नभेटिएको र चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि फेला नपरेको बताउनु भयो । उहाँकाअनुसार चालकमा थकान रहेको देखिएको र सडक सुरक्षा पूर्वाधार पनि अपर्याप्त रहेको कारण दुर्घटना घटेको निष्कर्ष कार्यदलले निकालेको छ ।
१८. सुर्खेतकी इनिसाको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सो जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका हुुन् । आवश्यक परे कानूनमा संशोधन गरेर भएपनि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भनेर सरकारलाई दवाव दिन आफूहरुले सरकारसँग खबरदारी गर्नुपरेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनु भयो । उहाँले यस्ता जघन्य अपराधका घटनामा जिम्मेवार निकाय आफैँले संरक्षण गर्ने गरेको आफूहरुलाई आशंका लागेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
१९. एनआरएनएको १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छः डा. बद्री केसी
गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ लगायतले फागुन ३० गतेबाट शुरु हुने सो महाधिवेशनको नेतृत्व सहमतीमा चयन गर्ने बताउनुभएको हो । अध्यक्ष केसीले अध्यक्ष लगायतका पदमा सर्वसम्मत हुने र केही पदमा सर्वसम्मति नभए मात्रै निर्वाचनमा जाने गरी आफूहरुले सहमतीको प्रयास जारी राखेको समेत बताउनु भयो । उहाँले भन्नुभयो,‘सबै विमतिहरु टुंगिएका छन् । यद्यपि अहिले यो एकताको सुरुवात मात्रै हो । जसरी गैर आवासीय नेपाली संघको जन्म भएको थियो । अव यसको पुनर्जन्म हुन्छ । अब यो संस्थाले सबै नेपालीहरुलाई एकसाथ जोडेर सबैलाई संस्थाको अपनत्व हुनेगरी अगाडि बढ्छ । यसका लागि धेरै गृहकार्यहरु भइसकेका छन् ।
२०. नेपालसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नसक्ने सिमित खेलाडी छन्ः नवनियुक्त मुख्य प्रशिक्षक एरिना
नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले उच्च स्तरको फुटबल खेल्नसक्ने नेपालसँग ३०÷३५ जना फुटबलर मात्र रहेको बताएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि नेपालसँग उच्च स्तरको फुटबल खेल्न सक्ने सिमित फुटबलर रहेको बताएका हुन् । त्यसको सुधारका लागि आपूmले काम गर्नुपर्ने आवश्यकता रहेको इटालियन प्रशिक्षक एरिनले औंल्याएका छन् । एन्फाले बिहीवार मात्र उनीसँग एक वर्षका लागि सम्झौता गरेको थियो । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकको रूपमा काम गर्न पाउँदा खुसी र उत्साहित छु । उनले आगामी जुन ५ तारिखमा हङकङसँग हुने मैत्रीपूर्ण फुटबल र अक्टोबरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि बलियो नेपाली टोली निर्माण गर्ने लक्ष्य रहेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij