२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरे।
विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गरे। उनले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताए।
उनले हाल देशको अस्तित्व नै संकटमा परेको बताए। उनले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिए। अध्यक्ष लिङदेनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताए।
उनका अनुसार देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प हो । उनले राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गरे।
नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर जान थालेको उल्लेख गर्नुहुँदै उनले त्यसलाई रोक्न आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित हुनुपर्ने आवश्यकता औँल्याए ।
वैदेशिक हस्तक्षेप र विदेशी चलखेलबारे काठमाडौंवासी सचेत रहेको उनको भनाई छ । अध्यक्ष लिङदेनले देश जोगाउनका लागि र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को सहित देशभरको विकासका लागि राप्रपाका उम्मेदवारलाई विजयी गराउन आह्वान गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij