२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ का पार्टी उम्मेदवार रञ्जित तामाङलाई फोन गरेका छन् । बिहीबार संयोजक प्रचण्डले तामाङलाई फोन गरेका हुन् ।
तामाङलाई फोन गर्दै उनले ढुक्कसँग निर्वाचन अभियानमा लाग्न र जितेर आए मन्त्री बनाउने आश्वासन समेत दिएका छन् । प्रचण्डले तामाङलाई भने, ‘बाहिर आएको हल्लाको भ्रममा नपर्नुस् । ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्। दुई जना प्रधानमन्त्रीका उम्मेदवार हराएर आउनुस् मन्त्री बनाउँछु।’
प्रचण्डले सक्रिय भएर खटिन पनि पार्टी पंक्तिलाई आग्रह गरेको उनले जानकारी गराए । फोनवार्ताका क्रममा तामाङले पूर्वमा सभा राख्न लागिएको र त्यसमा प्रचण्डलाई पनि सहभागीका लागि आग्रह गरेको बताए ।
‘देशभर कार्यक्रम गर्नुपर्यो । एउटा सभा पूर्वमा राख्नुपर्यो भनेर मैले भनेको छु । विशेषगरी झापामै एउटा सभा राख्नुपर्यो भनेर भनेँ,’ तामाङले थप भने, ‘मैले यहाँको चुनावी रिपोर्टिङ पनि उहाँलाई गराएँ ।’
प्रचण्डले हिजो काठमाडौंमा बुद्धिजिवीहरूसँगको छलफलमा विदेशी शक्तिहरूलाई परास्त गर्नका लागि कांग्रेस, एमाले, नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij