२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट न्यायाधीश हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जना र वर्ल्ड डिष्ट्रीब्युसन नेपाल प्रालिलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
सूचना प्रविधि केन्द्रका लागि ‘हाई कम्प्युटर इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानी पुर्याएको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
आयोगले पौडेलसहित तत्कालीन निर्देशक सफल श्रेष्ठ,सहायक निर्देशक रमेश पोख्रेल,कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । पौडेललगायतविरुद्ध आर्थिक वर्ष ०७६-७७ मा केन्द्रले प्रकाशन गरेको बोलपत्रमा स्पेसिफिकेशनमा उल्लेख गरिएको भन्दा कम क्षमताको प्रोसेसर जडान गरी भ्रष्टाचार गरेको आरोप छ ।
पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनका लागि गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप उनीहरू विरुद्ध छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij