२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । सरकारी छाप, दस्तखत किर्ते गरी संगठित रूपमा ठगी धन्दा चलाउने एउटा ठूलो गिरोहलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।
भद्रपुर नगरपालिका वडा नं. ८ को एयरपोर्ट–घोडामारा सडकखण्डबाट दुईवटा भारतीय विलासी गाडीसहित ६ जना भारतीय र एक जना नेपाली नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका अरिन्दम धर (४५ वर्ष), दिपा भौमिक (३६ वर्ष), सुमन सरकार (३५ वर्ष), नुर कलाम शेख (३७ वर्ष०), अबेद अली होसैन (५२ वर्ष) र फारुक अज्मी (२० वर्ष) रहेका छन्। उनीहरूसँगै झापाको कमल गाउँपालिका–६ बस्ने ४३ वर्षीय देवेन्द्र सापकोटा पनि पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलको टोलीले शंकास्पद अवस्थामा चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेका डब्लूबी ०६ एक्स ०३०० नम्बरको टोयोटा फर्च्युनर र डब्लूबी ०६ यू ३००६ नम्बरको सुजुकी बलेनो गाडीलाई चेकजाँच गर्दा यो गिरोहको भण्डाफोर भएको हो।
पक्राउ परेकामध्ये अरिन्दम धरको साथबाट आन्तरिक राजस्व विभागको नक्कली दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, भन्सार विभागको कागज र नेपाल सरकारको निशाना छाप भएको स्ट्याम्प प्याड बरामद भएको छ।
गिरोहका सदस्य सुमन सरकारको साथबाट संजय कुमार गिरी को नाममा बनाइएको नेपाल प्रहरीको प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) को नक्कली परिचयपत्र समेत फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका व्यक्तिहरूले नेपाल र भारतका सीमा क्षेत्रमा लामो समयदेखि यस्ता स्क्याम चलाउँदै आएका थिए।
पक्राउ परेका सबैमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम लिखत सम्बन्धी कसुर ९किर्ते० अन्तर्गत थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij