२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा।डा।संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति भण्डारीसहित १३ जनालाई एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै गत असोज २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले उपकुलपति प्रा.डा.संगीता सिंह भण्डारी, तत्कालीन का।मु। रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमितकुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृतद्वय छायाँ डी.सी. र श्रीराम चौधरी, आई।टी। अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, र वरिष्ठ सहायक अन्जु शर्माविरुद्ध मुद्दा दायर गरेको थियो ।
यस्तै, स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा त्यसका अध्यक्ष पोष्टराज ज्ञवालीलाई पनि प्रतिवादी बनाइएको छ ।
आयोगले सबै प्रतिवादीहरूबाट कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ। साथै, हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ असुलउपर गर्न पनि माग गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij