Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

जावलाखेलबाट भैँसेपाटी घर हिँडेका इन्जिनियरको कार दुर्घटना, तीन दिनपछि भेटियो शव

जावलाखेलबाट भैँसेपाटी घर हिँडेका इन्जिनियरको कार दुर्घटना, तीन दिनपछि भेटियो शव


  • 3.1K
    Shares

    जावलाखेलबाट भैँसेपाटी घर हिँडेका इन्जिनियरको कार दुर्घटना, तीन दिनपछि भेटियो शव

    काठमाडौं । माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा मानिस हराएको एउटा निवेदन पर्‍यो ।  ललितपुरस्थित एक अस्पतालका सञ्चालकसमेत रहेका चिकित्सकले निवेदन दिएका थिए ।

    निवेदनमा लेखिएको थियो, ‘मेरो ४० वर्षीय छोरा निरेन पेसाले सिभिल इन्जिनियर जावलाखेलबाट भैँसेपाटी घर जान्छु भनेर हिँडेको तर निजी गाडीसहित घर नपुगी सम्पर्कविहीन छन् । खोजीकार्य गरी पाऊँ ।’

    निवेदनमा निरेनको फोटो समेत समावेश थियो । निवेदनपछि प्रहरीले उनको खोजी तीव्र पार्‍यो । 

    परिसर ललितपुरका प्रमुख एवं एसएसपी होबिन्द्र बोगटीले निरेनको खोजीका निम्ति एउटा टिम खटाए । उनले चढ्दै आएको बीएसी ७०९९ नम्बरको फर्चुनर गाडी ललितपुरको कहाँकहाँ गुडेको छ भन्ने प्रहरीले खोजी थाल्यो ।

    त्यसनिम्ति जावलाखेल–एकान्तकुनादेखि उनको घर भैँसेपाटीसम्मका सडकका सीसी क्यामेरा फुटेज संकलन गरियो । निरेन गाडीचालक नै राखेर हिँड्ने गर्थे । माघ २६ साँझ भने उनले चालकलाई एकान्तकुनामा ओर्लन लगाएर आफैँले कार हुँइकाएको सीसी क्यामेरामा देखियो ।

    प्रहरीले चालकमाथि सोधपुछ गर्‍यो । निरेनले घर जाने भन्दै एकान्तकुनामै ओर्लन भनेको र आफू त्यहीँबाट फर्किएको चालकले प्रहरीसमक्ष बताए । एकान्तकुनाबाट उनी चढेको कार भैँसेपाटी घर नगई कान्ति लोकपथबाट ललितपुरको भट्टेडाँडा हुँदै मकवानपुरतिर हुँइकिएको सीसी क्यामेरामा देखियो ।

    प्रहरीले मकवानपुर निस्कने सडकखण्डका विभिन्न स्थानमा रहेका चेकपोस्ट र ठाउँठाउँका सीसी क्यामेराका फुटेजमार्फत अनुसन्धान गर्‍यो । निरेनको कार भट्टेडाँडा सडकखण्डबाट ‘क्रस’ भएको देखियो । तर, मकवानपुर पुगेको देखिएन ।

    प्रहरीले कान्ति लोकपथको भिरालो सडकखण्डका विभिन्न ठाउँमा उनको गाडी दुर्घटना भएको हुन सक्ने आशंका गर्दै खोजी थाल्यो । दुई दिनसम्म खोजी गर्दा पनि कार दुर्घटना भएको फेला परेन ।

    शुक्रबार (फागुन १) भने प्रहरीले कान्ति लोकपथका विभिन्न भिरालो तथा खोचहरूमा ड्रोन क्यामेरा प्रयोग गर्‍यो । र, निरेन चढेको कार सोही साँझ टीकाभैरव र माल्टागाउँ जोडिने ठूलो खोचको भीरमा अड्किएको देखियो ।

    त्यसपछि परिसर ललितपुरबाट डीएसपी द्वारिका घिमिरेको टोली दुर्घटनास्थल पुग्यो । शुक्रबार राति मात्र प्रहरी कार अड्किएको ठाउँमा पुगेको थियो । तर, कारभित्र निरेन भेटिएनन् ।

    प्रहरीले कारबाट निरेन उछिट्टिएको हुन सक्ने अनुमान गर्दै राति खोजी जारी राख्यो । कार भेटिएको दुई घण्टापछि प्रहरीले उनको शव उक्त स्थानबाट करिब ३०० मिटरमाथि भीरमा फेला पर्‍यो ।

    शुक्रबार राति नै प्रहरीले शव पाटन अस्पतालमा ल्यायो । निवेदकलाई निरेन दुर्घटनामा परेको जानकारी गराएपछि आफन्त राति नै पाटन अस्पताल पुगेका थिए । निरेनको पोस्टमार्टमपश्चात् शनिबार (फागुन २) परिवारले शव बुझेर अन्त्येष्टि गरिएको छ । तर, जावलाखेलबाट घर जानेर भनेर हिँडेका निरेन किन कान्ति लोकपथ पुगे भन्ने खुलेको छैन ।

    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, “उनी आफैँले कार लिएर कान्ति लोकपथको सडक जानुपर्ने कारण देखिँदैन । अझ चालकलाई समेत एकान्तकुनामै छाडेको देखिन्छ ।”

    प्रहरीका अनुुसार, केही समयअघि दुर्घटनामै परेर निरेनको बहिनीको मृत्यु भएको थियो । छोराछोरीको मृत्युसँगै परिवार गहिरो शोकमा डुबेको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १७:४४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij