Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र


  • 463
    Shares

    • images
    सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र नं २ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र बनेको छ । यस निर्वाचन क्षेत्रमा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट सभामुख र उपसभामुख बनेपछि राष्ट्रिय राजनीतिमा यो पटक पनि यो क्षेत्र चर्चा विषय बनेको हो ।

    यसपटक पनि प्रमुख दलका नेता तथा पूर्वपदाधिकारी उम्मेदवार रहेकाले निर्वाचनलाई महत्वपूर्ण मानिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे २०७९ को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर विजयी भएका थिए । एमालेको सङ्गठनात्मक शक्ति बलियो रहेको यो क्षेत्रमा उनी प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री एवं पूर्वउपसभामुख इन्दिरा रानामगर प्रत्यक्ष निर्वाचनमार्फत संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा रहेकी छन् । अघिल्लो निर्वाचनमा उनी रास्वपाको समानुपातिकबाट संसद् प्रवेश गर्दै उपसभामुख बनेकी थिइन् ।

    सामाजिक अभियानबाट राजनीतिमा प्रवेश गरेकी रानामगरको उम्मेदवारीलाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्वका रूपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा दोस्रो स्थान हासिल गरेका भद्रप्रसाद नेपाल (स्वागत) यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । उनले २०७९ मा सम्पन्न निर्वाचनमा २६ हजार ४५५ मत प्राप्त गरेका थिए ।

    नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री सरिता प्रसाईं र नेपाली कम्युनिष्ट पार्टीकी नेत्री एवं पूर्वमन्त्री धर्मशीला चापागाईं पनि प्रतिस्पर्धामा रहेका छन् । अघिल्लो निर्वाचनमा रहेको दलगत गठबन्धन यसपटक नरहेकाले मत विभाजनको सम्भावना देखिएको छ ।

    बिर्तामोड र अर्जुनधारा नगरपालिका, कनकाइ नगरपालिकाका दुई वडा तथा बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा-२ मा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन् । तीमध्ये १३ हजार ४३१ जना नयाँ मतदाता हुन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार अकलबहादुर तामाङ, अमृता लावती, अर्जुनकुमार पाण्डे, इन्दिरा रानामगर, केशवकुमार भण्डारी, चन्द्रकुमारी गारु, चुडाकर्ण बेघा, तिलबहादुर राई, देवराज घिमिरे, धर्माशिला चापागाईं, पुण्यप्रसाद आचार्य, भद्रप्रसाद नेपाल, मानबहादुर पुलामीमगर, डा.युवराज सङ्ग्रौला, रमेशकुमार कार्की, रमेशकुमार राजवंशी, श्रीप्रसाद सिटौला र सरिता प्रसाईंसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

     

     

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १३:५१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij