२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय आर्थिक गणना, २०८२ को कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वर्षको असारसम्म तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराएको हो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म देशैभर तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेका अनुसार गणनाबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष २०८३\८४ को सुरु अवधिदेखि नै यसका नतिजाहरू क्रमशः सार्वजनिक गरिने छ । उनका अनुसार यो गणना मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्याङ्क उपलब्ध गराउने महत्त्वपूर्ण कार्यका रूपमा रहेको छ ।
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी-सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिने मूल उद्देश्य लिइएको तथ्याङ्क अधिकारी लामिछानेको भनाइ छ । गणनाको उद्देश्य र महत्त्वबारे प्रकाश पार्दै प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलले आर्थिक तथ्याङ्कको संस्थागत मजबुत आधार निर्माणमा यो गणनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
यस गणनाका आधारमा देशको कुल गार्हस्थ्य उत्पादनका अनुमानहरू सुदृढीकरण गर्ने, राष्ट्रिय लेखाका आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्याङ्क उत्पादन गर्ने र सरकारले तय गर्ने नीतिनिर्माण र योजना तर्जुमा गर्न तथा नीतिमार्फत लिएका लक्ष्यहरूको मापनमा सहयोग गर्ने अन्य उद्देश्य रहेका छन् ।
देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापहरूलाई अन्तरराष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार २१ भागमा विभाजन गरी ती क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान मापन हुँदै आएको छ ।
गणनामा देशैभर रहेका दर्ता भएकारनभएका ठूला वा साना व्यापाररप्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार मात्रै भएका, उद्योग, कलकारखाना, व्यापार-व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल आदि आर्थिक क्रियाकलाप गरिरहेका एकाइमा गणना सञ्चालन गरिनेछ ।
यसका साथै २०८३ को असार मसान्तसम्ममा सबै कार्यालयहरू बन्द गरिनेछ । गणनाका लागि मुख्य प्रश्नावली, अधिकृत पुस्तिका, गणना पुस्तिका लगायतका गणना सामग्री निर्माणको कार्यलाई सञ्चालन गरिएको छ । आगामी चैत ३० गतेसम्म विभिन्न चरणमा गरी मुख्य प्रशिक्षक तालिम, अधिकृत तालिम र सुपरिवेक्षक तथा गणक कर्मचारीको तालिम सम्पन्न गरिनेछ ।
यस लगत्तै तथ्याङ्क सङ्कलनका लागि २०८३ वैशाख २ देखि असार ७ गतेसम्म तालिम प्राप्त गणक तथा सुपरिवेक्षकहरू स्थलगत रूपमा खटिनेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij