२०८२ पौष ७ गते सोमवार
काठमाडौं । प्रहरीले जेनजी अभियन्ता निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले विरोध प्रदर्शन गरेको छ । सोमवार बिहान काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
काठमाडौं प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायतका अभियन्ताहरू पक्राउ परेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।
प्रदर्शनसँगै माईतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत पारिए पनि प्रदर्शनरत केही जेनजीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
ढुंगानाले सरकारले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायत माग अघि सार्दै आईतवार आन्दोलनको घोषणा गरेको थियो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij