२०८२ पौष ६ गते आइतवार
काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।
हाल गुह्वेश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा ट्रास बेरियर राख्ने काम भइरहेको हो ।
जम्मा ६ स्थानहरूमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम भइरहेको जनाइएको छ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ ।
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलामा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएको छ ।
नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफैँ तलमाथि हुने ढङ्गले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij