Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

८ सीडीओको एकैपटक मन्त्रालय बाहिर सरुवा

८ सीडीओको एकैपटक मन्त्रालय बाहिर सरुवा


  • 603
    Shares

    ८ सीडीओको एकैपटक मन्त्रालय बाहिर सरुवा
    images

    काठमाडौं ।  मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० सहसचिवको सरुवा गर्ने निर्णय गर्यो । त्यसमध्ये गृह मन्त्रालय अन्तर्गतका १३ सहसचिवको अन्य मन्त्रालयमा सरुवा भयो । सरुवा हुनेमा ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)पनि छन् ।

    गृहबाट अन्य मन्त्रालयमा सरुवा हुनेमा सहसचिवहरू गोपालप्रसाद अर्याल, डा.टोकराज पाण्डेय, कल्पना श्रेष्ठ, सुनिता नेपाल, खिमबहादुर रायमाझी, नेत्रप्रसाद सुवेदी, कृष्णप्रसाद लम्साल, नारायणप्रसाद रिसाल, लीलाप्रसाद शर्मा, बन्धुप्रसाद बास्तोला, गोविन्दप्रसाद रिजाल, शंकरहरि आचार्य र धर्मेन्द्रकुमार मिश्र छन् ।

    उनीहरूमध्ये डा.पाण्डे लमजुङ, श्रेष्ठ खोटाङ, नेपाल इलाम, सुवेदी सल्यान, नारायणप्रसाद रिसाल दोलखा, बास्तोला सिन्धुपाल्चोक, लम्साल नवलपरासी पश्चिम, र मिश्र बारामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।

    सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । त्यसका लागि जिल्लामा शान्ति सुरक्षा स्थापित गर्ने र निर्वाचनको वातावरण निर्माण गर्ने कामको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्छ । मन्त्रिपरिषद्ले नै एकैपटक ८ प्रमुख जिल्ला अधिकारीको सरुवा गरे पनि ४ दिनसम्म ती जिल्लामा नयाँ सहसचिवलाई जिम्मेवारी दिएर पठाएको छैन ।

    सरुवा भएका स्थानमा नयाँ प्रमुख जिल्ला अधिकारी कहिले पठाउनुहुन्छ भन्ने प्रश्नमा गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले कुरा गर्न चाहेनन् । उनले भने, ‘पछि कुरा गरौँला ।’

    गृहबाट ८ प्रमुख जिल्ला अधिकारीसँग कारागार व्यवस्थापन विभागका महानिर्देशन लीलाप्रसाद शर्मा र मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजालको पनि सरुवा भएको छ भने अतिरिक्त समूह जगेडामा रहेका सहसचिवहरू आचार्य, अर्याल र रायमाझीको पनि सरुवा भएको छ ।

    सरुवामा गृहबाट १३ सहसचिव बाहिरिँदा ७ सहसचिव भित्रिएका छन् । बिहीबारकै सरुवामा अन्य मन्त्रालय र निकायबाट उमेश ढुंगाना, शान्तिराज प्रसाई, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, रेखा कँडेल, निश्चलराज पाण्डे र राजन पौडेल भित्रिएका छन् । 

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १२:२९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij