Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 652
    Shares

    आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. सुनसरीमा फोटो पत्रकारिताको क्षमता अभिवृद्धिका लागि एकदिने आधारभुत तालिम

    सुनसरीका ग्रामीण क्षेत्रका पत्रकार तथा फोटो पत्रकारहरूको व्यावसायिक सीप विकास गर्ने उद्देश्यले दिगो पर्यटन परियोजनाअन्तर्गत आयोजित एकदिने आधारभुत फोटो पत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न भएको छ । 
    इटहरीस्थित त्रियुगा होटलमा बिहीवार सम्पन्न यो कार्यक्रममा जिल्लाका विभिन्न ग्रामिण भेगबाट २१ जना पत्रकार तथा फोटो पत्रकारहरूको उत्साहपूर्ण सहभागिता थियो । अनुभवी प्रशिक्षक तथा फोटो पत्रकार ओमप्रकाश यादवको नेतृत्वमा सञ्चालित तालिममा वन्यजन्तु तथा प्रकृति फोटोग्राफीका आधारभुत सीप, क्यामेरा सेटिङ, प्रकाश व्यवस्थापन, कम्पोजिसनका सिद्धान्तहरू, फोटोमार्फत कथा भन्ने कला र पत्रकारितामा फोटोको महत्वजस्ता विषयमा व्यवहारिक प्रशिक्षण दिइएको थियो । 

    २. भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन

    धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित तुल्सीयाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत देवीसहाय मीणा र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले संयुक्त रूपमा गर्नुभएको हो । नवनीर्मित विद्यालयको भवन उदघाटन गर्नुहुँदै महावाणिज्यदुत मिणाले भारत सरकार नेपालको आधारभुत क्षेत्रको विकासकालागि सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भारत सरकार नेपालमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता पूर्तिकालागि सदैव तयार रहेको कुरा यो विद्यालयको भवन उदघाटन त्यसकै उत्कृष्ट उदाहरण रहेको बताउनु भयो । 

    ३. पोखरामा दोस्रो भारत–नेपाल पर्यटन मिट सम्पन्न

    नेपाल र भारतबीच पर्यटन साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आयोजित दोस्रो ‘इण्डिया–नेपाल टुरिजम मिट’ सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदुतावास, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा भएको यो कार्यक्रम विशेष गरी उत्तर प्रदेश र गण्डकी प्रदेशबीचको पर्यटन सहकार्य विस्तारमा केन्द्रित थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्यलाई स्वागतयोग्य कदम भएको बताउनु भयो । उहाँले यो सहकार्यले दुवै देशका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    ४. नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रिय कमिटीको पहिलो बैठक शुरु

    नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय कमिटीको पहिलो बैठक शुरु भएको छ । महाधिवेशन सम्पन्न भएको भोलिपल्टै बस्ने गरी आह्वान गरिएको यो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रिय कमिटीले औपचारिक रूपमा आफ्नो कार्यकाल शुरु गरेको हो । बैठक मूलतः महाधिवेशनको समीक्षा, पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्ययोजना, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा छलफल केन्द्रित हुने बताइएको छ । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरूले बिहीवार नै शपथ ग्रहण गरिसकेका छन् । ११औँ महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ पदाधिकारी र केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । महाधिवेशन भक्तपुरमा मंसिर २७ गतेदेखि शुरु भई पुस ३ गते सम्पन्न भएको थियो । 

    ५. कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुको मान मर्दन गर्नुभएको आरोप लगाउनुभएको छ । वागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जेन–जी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमा निर्मम प्रहार गरिरहेको बताउनु भयो । उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरुमाथि प्रहार गरिरहनुभएको बताउनु भयो । मन्त्री घिसिङको कदमले व्यवसायीहरु हतोत्साहीत भएको बताउनु भयो । 

    ६. कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा

    अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिक असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ । शुक्रवार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्षको बजेटमा विभिन्न शिर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट रहेको र अर्थतन्त्र पनि कमजोर बनाएको बताउनु भयो । सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन आजको सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै मन्त्री सिन्हाले यसले नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष सम्बन्ध राख्ने बताउनु भयो । राज्यले कर, शुल्क र अन्तर्राष्ट्रिय सहायताबाट संकलन गरेको स्रोत शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गरे पनि त्यसको प्रतिफल नागरिकले अनुभुति गर्न नसकेको गुनासो रहेको स्वीकार गर्नुभयो । 

    ७. अमेरिकी सिनेटद्वारा ९०१ अर्ब डलरको रक्षा नीति विधेयक पारित

    अमेरिकी सिनेटले आर्थिक वर्ष २०२६ का लागि ९०१ अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडीएए) पारित गरेको छ । यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबुलमा हस्ताक्षरका लागि पुगेको छ । विधेयक ७७–२० मतले पारित भएको हो । जसमा दुवै पार्टीको व्यापक समर्थन देखिएको छ । हाउस र सिनेटले आफ्ना छुट्टाछुट्टै संस्करणहरूलाई मिलाएर यो सम्झौता संस्करण तयार पारेका थिए । जसलाई हाउसले गत हप्ता पारित गरेको थियो । ३ हजार पृष्ठभन्दा बढी लामो यो विधेयकमा सैनिकहरूलाई करिव ४ प्रतिशत तलब वृद्धि, पेन्टागनको हतियार खरिद प्रक्रियालाई तिब्र बनाउने सुधार, अमेरिकी गोल्डेन डोम मिसाइल रक्षा प्रणालीको विकास र सैन्य तयारीलाई बढावा दिने प्रावधानहरू समावेश छन् । 

    ८. अमेरिकी सिनेटद्वारा जेरेड इसाकम्यानलाई नासाको प्रशासकको रूपमा अनुमोदन

    अमेरिकी सिनेटले अर्बपति उद्यमी तथा निजी अन्तरिक्ष यात्री जेरेड इसाकम्यानलाई राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनीत नासाको प्रशासकको रूपमा अनुमोदन गरेको छ । इसाकम्यानको मनोनयनलाई ६७–३० को मतले अनुमोदन गरिएको हो । ट्रम्पले इसाकम्यानलाई गत डिसेम्बरमा पहिलो पटक मनोनीत गर्नुभएको थियो । तर मे महिनामा डेमोक्र्याटहरूतर्फ उनको विगतका दान र स्पेसएक्सका सीईओ इलोन मस्कसँगको निकट सम्बन्धका कारण चासो व्यक्त भएपछि मनोनयन फिर्ता लिएका थिए । मस्कले ट्रम्पको मनोनयन फिर्ता लिनुभन्दा केही दिनअघि मात्र ह्वाइट हाउस छोडेका थिए । त्यसपछि यातायात सचिव सिन डफीले नासाको अन्तरिम प्रशासकको रूपमा काम गर्दै आएका थिए । पछिल्लो मनोनयन स्वीकार गर्दै इसाकम्यानले नासाको मानव अन्तरिक्ष अन्वेषणको अर्को युगको नेतृत्व गर्न प्रतिबद्ध रहेको बताएका थिए । 

    ९.अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्तमा अर्को लागुऔषध बोकेको डुङ्गामाथि प्रहार

    अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा अर्को लागुऔषध तस्करीको डुङ्गामाथि आक्रमण गरी डुबाएको छ । जसमा ४ जना पुरुषको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्ड (साउथकम) ले जनाएको छ । उक्त डुङ्गा अमेरिकाले तोकेका आतङ्कवादी सङ्गठनहरूले सञ्चालन गरेको थियो । अमेरिकी गुप्तचर जानकारीअनुसार यो ज्ञात लागुऔषध तस्करी मार्गमा यात्रा गर्दै लागुऔषध तस्करीमा संलग्न थियो । कुल ४ जना पुरुष नार्को–आतङ्कवादी मारिएका छन् र कुनैपनि अमेरिकी सैनिकलाई हानि पुगेको छैन । 

    १०. दक्षिण कोरियाको मेट्रो निर्माण स्थलमा दुर्घटनाः एकको मृत्यु, दुई घाइते

    दक्षिण कोरियाको राजधानी सियोलमा नयाँ मेट्रो लाइनको निर्माण स्थलमा भएको दुर्घटनामा एक जना कामदारको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । योन्हाप समाचार एजेन्सीका अनुसार यो घटना सियोलको येओइडो स्टेसन नजिकैको सिनान्सान लाइनको भूमिगत निर्माण स्थलमा भएको हो । कंक्रीट हाल्ने कामका क्रममा फलामे रडहरू खसेर कामदारहरू च्यापिएका छन्। दुर्घटना भूमिगत करिब ७० मिटर गहिराइमा भएको अनुमान गरिएको छ । सात जना कामदार च्यापिएका थिए । तीमध्ये ५० वर्षीय एक जना कामदारलाई हृदयघात (कार्डियाक अरेस्ट) अवस्थामा भेटिएको थियो । 

    ११. दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा प्रहरी प्रमुखको महाअभियोग सदर

    दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीवार महाअभियोग लगाइएका पूर्व राष्ट्रपति युन सुक योलको गत वर्ष डिसेम्बरमा असफल सैनिक कानून घोषणामा संलग्नताका कारण प्रहरी प्रमुखको महाअभियोगलाई सदर गरेको छ । अदालतको फैसलाले कोरियन राष्ट्रिय प्रहरी एजेन्सीका कमिस्नर जनरल चो जी–होलाई तत्काल पदबाट हटाइएका छन् । चोको महाअभियोग प्रश्ताव गत वर्ष डिसेम्बर १२ मा राष्ट्रिय सभाले पारित गरेको थियो । उनीमाथि सांसदहरूलाई संसद भवनमा प्रवेश गर्न रोकेको र आपत्कालीन सैनिक कानुनको समयमा राष्ट्रिय निर्वाचन आयोगमा प्रहरी अधिकारीहरू खटाएको आरोप थियो । 

    १२. वेस्ट बैंकमा इजरायली सेना र प्यालेस्टाइनीबीच झडप

    प्यालेस्टाइनी स्रोतहरूकाअनुसार पश्चिम बैंकमा इजरायली सेनासँगको झडपमा ४ जना प्यालेस्टाइनी घाइते भएका छन् भने ४० जनालाई गिरफ्तार गरिएको छ । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले बताएअनुसार इजरायली फौजले नाब्लुस शहरमा आक्रमण गरी पुरानो शहरमा छापा मारेको थियो । जसले प्यालेस्टाइनी युवाहरूसँग हिंसात्मक झडप निम्त्याएको थियो । स्रोतहरूकाअनुसार इजरायली फौजले युवाहरूमाथि गोली र अश्रुग्यास प्रहार गरेका थिए भने युवाहरूले ढुंगा र खाली बोतल प्रहार गरेर जवाफ दिएका थिए । रामल्लाहस्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नाब्लुसको रफिडिया सरकारी अस्पतालमा गोली लागेर घाइते भएका ४ जनालाई पठाइएको उल्लेख छ, जसमध्ये एकजनाको छातीमा गम्भीर चोट लागेको छ । 

    १३. संयुक्त राष्ट्र महासचिवद्वारा यमनमा तनाव न्युनिकरणको आह्वान

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यमनमा बढ्दो तनावलाई न्युनिकरण गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ । सुरक्षा परिषद्लाई गोप्य ब्रिफिङ दिएपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले यमनमा तनाव बढिरहेको र पूर्वी प्रान्तहरूमा नाटकीय नयाँ विकासहरूले स्थिति थप जटिल बनाएको बताउनु भयो । लगभग ४८ लाख मानिसहरू घरबाट विस्थापित भएका छन् र १९.५ मिलियनलाई मानवीय सहायता आवश्यक छ । तर आफूहरुका प्रयासहरूले ठूलो चुनौतीहरूको सामना गरिरहेको उहाँको भनाइ छ । हुथी नियन्त्रित क्षेत्रहरूमा सञ्चालन वातावरण असह्य बन्दै गएको बताउनु भयो । यमनी पक्षहरू यसअघि शान्तिनजिक पुगेका थिए ।  

    १४. सुडान द्वन्द्वमा इजिप्टले तोक्यो रातो रेखा

    सुडानको जारी गृहयुद्धका विषयमा इजिप्टले कडा अडान लिएको छ । सुडानका संक्रमणकालीन संप्रभु परिषद् अध्यक्ष जनरल अब्देल फत्ताह अल–बुर्हानको कायरो भ्रमणका क्रममा इजिप्टले सुडानको एकता, भौगोलिक अखण्डता तथा त्यहाँका स्रोतसाधन र जनशक्तिको संरक्षणलाई प्रमुख रातो रेखा भएको घोषणा गरेको हो । इजिप्टको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सुडानमा जारी तिब्र द्वन्द्व र तनावलाई गम्भीर चिन्ताका साथ हेरेको उल्लेख गर्दै विशेष गरी एल फाशेरमा सुडानी नागरिकविरुद्ध भएका भयानक नरसंहार र मानवअधिकारका घोर उल्लंघनको निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यी रातो रेखाहरू पार गर्न वा नरम व्यवहार गर्न सकिँदैन, किनकि यसले इजिप्टको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष असर गर्छ, जुन सुडानको राष्ट्रिय सुरक्षासँग घनिष्ठ रूपमा जोडिएको छ ।’

    १५. १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा

    नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताउनुभएको हो । उहाँले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने दाबी समेत गर्नुभयो । उहाँले पार्टीका शिर्ष नेताहरुले महाधिवेशनमा दोस्रो तहका नेताहरुमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिनुभयो । 

    १६. जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्री खरेलको घोषणा

    जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रवार घाइते पत्रकारहरुलाई नगदसहित सम्मान गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गर्नुभएको हो । जेन–जी प्रदर्शनको क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर चार पत्रकार घाइते भएका थिए । आन्दोलनको क्रममा घाइते भएका कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसडटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाललाई शुक्रवार मन्त्रालयमा एक आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री खरेलले घाइते पत्रकारहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह समेत गर्नुभयो । 

    १७. एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो

    नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक यही पुस २६, २७ र २८ गते बस्ने भएको छ । शुक्रवार बसेको पार्टीको नवनिर्वाचित केन्द्रिय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्दिय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले केन्द्रिय सल्लाहकार परिषद् पनि गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने निर्णय पनि गरेको छ । ११ औँ राष्ट्रिय महाधिवेशनले संशोधन गरेर विधान एक हप्ता भित्र प्रकाशन गरी पार्टीको सबै कमिटीहरुमा पठाउने प्रश्ताव पनि बैठकले पारित गरेको उपमहासचिव भट्टले बताउनु भयो । बैठकले नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रिय सचिवालयलाई समेत दिएको छ । 

    १८. एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताउनुभएको छ । शुक्रवार ११ औ महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रिय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, साच्चो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरुले कडा अनशासनमा रहेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीको सामुहिक प्रयासबाट निकालिएका नीति विपरित नचल्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले पार्टीको बैठकमा मोबाइल चलाउने काम नगर्न पनि नेता, कार्यकर्तालाई निर्देश गर्नुभयो । 

    १९. पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू

    नवनिर्वाचित नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नवनिर्वाचित पार्टी केन्द्रिय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पु¥याउने दृढता समेत व्यक्त गर्नुभयो । उहाँले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनैपनि कमजोरी हुन नदिने दाबी समेत गर्नुभयो । उहाँले नवनिर्वाचित केन्द्रिय समितिमा नेताहरुलाई एक स्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराउनु भयो । आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरुले एकस्वर, एकतालका साथ अघि बढनुपर्ने अध्यक्ष ओलीको भनाई थियो । 

    २०. राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ

    वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री बानियाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराउनु भयो । उहाँले विधि र प्रक्रिया नपु¥याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताउनु भयो । मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरुलाई बैंकहरु पनि पछिल्लो समय दुःख दिने गरेको समेत बताउनु भयो । 

    २१. अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ

    अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गनुभएको छ । तोडफोड र आगजनी भएको एकसय दिनपछि क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुग्नुभएका अर्थमन्त्री खनालले भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो । क्षतिग्रस्त कार्यालय भवन मर्मतसम्भार सम्बन्धि फाइल बिहीवार मात्रै आफ्नो टेबुलमा आएको भन्दै उहाँले फाइल हेरेर आवश्यक निर्णय लिने बताउनु भयो । त्यसक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खिलराज पाण्डेयले सामान्य मर्मतले मात्रै कार्यालयको सेवा प्रवाह गर्न सम्भव नभएकोले संघ सरकारको सहयोग जरुरी रहेको बताउनु भयो ।  

    २२. नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य

    अपराजित एपिएफ इस्ट बंगाललाई हराउँदै साफ महिला क्लव च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लव शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले यस क्षेत्रको फुटबल विकास गर्ने उद्देश्यअनुरूप क्लव च्याम्पियनसिपको अवधारणा शुरु गरेको हो । जहाँ एपिएफ र इस्ट बंगाल दुवै अपराजित रहँदै उपाधि भिडन्त तय गरेका हुन् । तुलनात्मक रूपमा एपिएफभन्दा इस्ट बंगाल बलियो देखिन्छ । यद्यपि, लिगको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरीको नजितामा चित्त बुझाएका थिए । यस च्याम्पियनसिपमा पाँच क्लव सहभागी थिए ।

    २३. आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति

    आगामी एसियन गेम्स र लस एञ्जलस ओलम्पिकको तयारीका लागि विभिन्न आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् । नेपाल ओलम्पिक कमिटी(एनओसी) ले शुक्रबार पत्रकार सम्मेलनमार्पmत विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने जनाएको हो । एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइम्बिङ र पौडीका खेलाडीलाई छात्रवृत्ति दिने भएको छ । एनओसीले लस एञ्जलस ओलम्पिकका लागि ८ जना, आइची नागोया एसियन गेम्सका लागि पाँच जना र युथ गेम्सको लागि उसुकी रश्मि घिसिङलाई छात्रवृत्ति प्रदान गरेको छ । एनओसीले छात्रवृत्ति प्रदानका गरेको खेलमध्ये टेबल टेनिस, टेनिस, पौडी र साइक्लिङमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी समानान्तर दुई संघका छन् । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १९:०२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij