२०८२ भाद्र ६ गते शुक्रवार
बुटवल । लुम्बिनीमा दुई दिनअघि अक्सिजन नपाएर कोभिड-१९ संक्रमितको मृत्यु भयो । त्यसपछि मन्त्री, सांसद दलका नेताहरूप्रति नागरिकहरूको आक्रोश चुलिएको छ । त्यसपछि सरकारी चासो बढेको छ । उक्त घटनापछि एयरलिफ्ट गर्नेदेखि सिलिण्डर खोज्न कबाडी गोदाममा धाउने काम भएका छन् ।
विराटनगर, सिमरादेखि रुपन्देहीमा अक्सिजन सिलिन्डर आए । त्यतिले मात्र अक्सिजन अभाव टरेन । सिलिन्डरको अभाव भयो । विराटनगरलगायतका उध्दोगमा रिफिल गर्ने सहमति भयो । तर सिलिन्डर खाली भेटिएन । त्सपछि लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ अक्सिजन सिलिन्डर खोज्दै कबाडी गोदाम पुगेका हुन् ।
कोभिड-१९ को महामारी तीब्र बनेका बेला मन्त्री श्रेष्ठ आफै सिलिन्डर खोज्न निस्केका छन् । मन्त्रालयले यसअघि घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिन्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरेको थियो । अक्सिजन अभाव भएको बेला मन्त्री श्रेष्ठले बुटवलको एक कबाडी संकलन केन्द्रमा ६ थान अक्सिजन सिलिन्डर भेटेका छन् ।
सिलिन्डर भेटिने सम्भाव्य स्थान खोज्दै निस्केका मन्त्री श्रेष्ठसहितको टोलीले कबाडी पसलमा ठूलो साइजको अक्सिजन सिलिन्डर फेला पारेको हो। कबाडी संकलन केन्द्रका सञ्चालकसँग भर्पाइ गरेर उठाइएको छ ।
‘हिजो अपिल गरिए बमोजिम अक्सिजन सिलिन्डरको खोजीमा लागेको छु, प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय निकायहरू जनताको स्वास्थ्य उपचार विशेषगरी अक्सिजन जुटाउन लागौं’ मन्त्रालयका अधिकारी तथा प्रहरीसहित सिलिन्डर खोज्न निश्किएका मन्त्री श्रेष्ठले भने, ‘अक्सिजन सिलिन्डर अस्पतालमा बुझाउनु होस् । तपाईंले बुझाएमा कसैको ज्यान बाँच्छ ।’ यो अभियान प्रत्येक दिन जारी रहने पनि मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले पछिल्लो समय अक्सिजनको अभाव भएको बेला अस्पताल, अक्सिजन उत्पादन केन्द्र, सप्लायर्सहरूदेखि लिएर कवाडी संकलन केन्द्रमा समेत अनुगमनमा सक्रियता देखाएका छन् । महामारी बढिरहेको बेला लुम्बिनी प्रदेशमा अक्सिजनको चरम अभाव भएको छ । निरोगी मानिसहरूले पनि बिरामी भएमा चाहिन्छ भनेर अक्सिजन सिलिन्डर किनेर भण्डारण गरेका कारण बजारमा अभाव भएको मन्त्री श्रेष्ठले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij