२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने आवाज उठेको छ। ४० वर्षभन्दा कम उमेर समूहको प्रतिनिधित्व १५ प्रतिशतसम्म हुनुपर्ने आवाज बैठकमा उठेको हो।
एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपस्थित बन्दसत्र हलमै आइतबार बसेको केन्द्रीय समिति बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकभित्र युवाको प्रतिनिधित्व बढाउनुपर्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिए।
गौतमले अन्डर-४० को प्रतिनिधित्वका लागि आवश्यक क्लस्टर कसरी बनाउने भन्ने विषयमा अन्तिम निर्णय बाँकी रहेको बताएका छन्। उनले पुराना विद्यमान क्लस्टरहरूभित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको जानकारी दिएका छन्।
उनले जेनजीलाई ध्यानमा राखेर एमालेले २५१ सदस्यीय केन्द्रीय समिति संख्या हेरफेर गरेर ३०१ सदस्यीय बनाउने बैठकले निर्णय गरेको बताएका छन् ।
त्यही आधारमा ९९ देखि १०१ जनासम्मको पोलिटब्युरो र ३० देखि ३३ जनासम्मको स्थायी कमिटी हुनेगरी महाधिवेशन हलमा पेस गरिने उनले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij