२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफूहरू भागेर अमेरिका नआएको बताएका छन् । शुक्रबार बिहान फेसबुकमा लामो ‘बकपत्र’ शीर्षकको स्टाटस लेख्दै उनले अमेरिका भागेको भन्ने कतिपय मिडिया विवरणको खण्डन प्रयास गरेका छन् ।
दुई वर्षअघि नै आफूले एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले यतिबेला भने छोरीको खुट्टाको उपचारका लागि अमेरिका आएको दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्न सक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि दिइने स्थायी बसोबास अनुमतीपत्र हो ।’
‘यो कार्ड आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि निशुल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्सरमेडिकेडमार्फत’ उनी भन्छन्, ‘यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’ कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं ।’
‘छोरीको ज्यान जोखिममा नपरोस भनेर समस्यालाई थाँती राखी अहिले अमेरिका आउन वाध्य बन्यौं । यो वाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु’ उनले लेखेका छन्, ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं ।’
अमेरिका आफूहरुले कुनै व्यवसाय सुरु नगरेको र लगानी पनि नगरेको दाबी उनको छ । उनले रंगशालाको समस्याबाट मुक्ति दिलाएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गर्नुपर्ने बताएका छन् ।
उनले विमानस्थलमा खिचिएका पत्नी तथा अभिनेत्री कुञ्जना घिमिरे सुन्तली र छोरीसहितको फोटो पनि सेयर गरेका छन् । निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट मुक्ति नपाएपछि अन्ततः छोरीको उपचारका लागि अमेरिका जान बाध्य भएको उनको भनाइ छ ।
स्रोतका अनुसार, धुर्मुस र सुन्तली अहिले अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बसोबास गर्दै आएका उनका भाइ नाता पर्नेको घरमा छन् । कामको कुरा गर्दा, यसैवर्ष उनी अभिनित फिल्म ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । उनी फिल्म ‘पाँच पाण्डव’ को तयारीमा छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij