Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एमालेमा वरिष्ठ उपाध्यक्ष बन्दै विष्णु पौडेल

एमालेमा वरिष्ठ उपाध्यक्ष बन्दै विष्णु पौडेल


  • 2.0K
    Shares

    एमालेमा वरिष्ठ उपाध्यक्ष बन्दै विष्णु पौडेल

    नेकपा (एमाले) को ११औँ महाधिवेशनमा विष्णु पौडेल वरिष्ठ उपाध्यक्ष चयन हुने देखिएको छ। त्यसका लागि एमालेले विधानमा फेरि वरिष्ठ उपाध्यक्ष पद राख्ने तयारी गरेको छ।

    समानान्तर प्यानल नै बनाएर केपी शर्मा ओलीलाई टक्कर दिने तयारीमा रहेका विद्या भण्डारी– ईश्वर पोखरेल समूहसँग निरन्तर संवादमा रहेका पौडेल केही दिनअघि मात्रै ओलीको पक्षमा खुलेका थिए। एमाले भित्रको शक्ति सन्तुलनमा निर्णायक मानिएका पौडेल, पृथ्वीसुब्बा गुरुङ पनि खुलेपछि ओली पक्ष विद्या–ईश्वर पक्षभन्दा निकै बलियो भएको मानिएको छ। 

    आफ्नो पक्षका र केही असन्तुष्ट नेताहरूको समेत व्यवस्थापन गर्नु पर्ने भएकाले अध्यक्ष ओलीले विधान संशोधनको तयारी गरेका हुन्। मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन भएपछि भोलिपल्ट २८ गते काठमाडौँको भृकुटी मण्डपमा सुरु हुने बन्दसत्रको सुरुवातमै विधान संशोधन गर्ने तयारी छ। 

    एमालेका एक उच्च नेताका अनुसार केन्द्रीय सदस्यहरूको संख्या दुई सय ५१ बाट बढाएर फेरि तीन सय एक पुर्‍याउने विषयमा सहमति जुटिसकेको छ। त्यस्तै, पोलिटब्यूरो सदस्यहरूको संख्या ९९ बाट बढाएर एक सय एक र स्थायी कमिटी सदस्यको संख्या ४५ बाट घटाएर ४१ बनाउने तयारी छ। गत भदौ २०-२२ गतेसम्म ललितपुरमा भएको दोस्रो विधान महाधिवेशनले विधान संशोधन गर्दै स्थायी कमिटी नराख्ने र १५ सदस्यीय सचिवालय बनाउने निर्णय पारित गरेको थियो। 

    ती नेताका अनुसार विधान संशोधन गरेर एमालेका पदाधिकारीको संख्या पहिलेकै १९ कायम गर्ने तयारी छ। त्यसो गर्दा अहिले ओलीले पदाधिकारी थप गर्नेबारे दुई विकल्पमा छलफल गरिरहेका छन्। 

    वरिष्ठ उपाध्यक्ष पद राख्न ओली आफै चाहिँ त्यत्ति सकारात्मक छैनन्। तर धेरै नेताहरूको सुझाव वरिष्ठ उपाध्यक्ष राख्नुपर्छ भन्ने रहेकाले ओली त्यसमा सकारात्मक हुँदै गएको उनलाई भक्तपुरको गुन्डुमा भेटेर फर्किने नेताहरूको भनाइ छ। 

    वरिष्ठ उपाध्यक्ष पद फेरि सिर्जना गर्दा ओली पक्षबाट त्यसको एक मात्र उम्मेदवार विष्णु पौडेल हुन्। पौडेलले पनि आफूले अध्यक्षमा ओलीलाई समर्थन गर्ने र महासचिवको दाबेदार आफु नरहेकाले अन्य पदमा उठ्ने सार्वजनिक रुपमा बताइसकेका छन्। 

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - २२:२३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij